प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सफलताका रुपमा देशलाई सुगम देश बनाइसकेको दाबी गरेका छन्।
मदन जयन्तीको अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘अहिले यो सरकार बनेपछि कर्णालीमा पुल बनेको छ। म स्पेनबाट २० गते फर्किन्छु, त्यसपछि त्यो पुल उद्घाटन हुन्छ। त्यसमाथि गाडी चढ्ने हो,’ प्रधामन्त्री ओलीले भने, ‘रारा घुम्न मोटर चढी कहिले जाने हो भनेर साथीहरु गीत गाउँथे, अब रारा मात्र होइन, मोटर चढी हुम्ला घुम्न जाने हो। हिल्सासम्म घुम्न जाने हो।’
नेपालको कुनै पनि सदरमूकाम अब दुर्गम नरहेको उनले बताए। ‘नेपाल अब दुर्गम रहेन। नेपाललाई सुगम देशको रूपमा हामीले परिणत गरिसक्यौँ,’ ओलीले भने।
मदन भण्डारीको जनताको बहुदलीय जनवादकै सफलताको रुपमा यो भएको प्रधानमन्त्री ओलीले दाबी गरे। प्रधानमन्त्री ओलीले यसअघि पनि नेपाल सुगम देश बनिसकेको दाबी गरेका थिए।
प्रकाशित: १४ असार २०८२ १६:०० शनिबार





