१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

केपिलासगढीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

एमपायरलाई भलिबल दिएर प्रतियोगिता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईलगायत। तस्बिरः महेश्वर

खोटाङको केपिलासगढी गाउँपालिकामा अन्तरमाध्यमिक विद्यालयस्तरीय ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०८२’ आइतबारदेखि सुरु भएको छ। ४ दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा विद्यालयका छात्रछात्रा खेलाडीको सहभागिता रहेको छ।

भलिबल, कराते र तेक्वान्दो तथा एथ्लेटिक्समा स्पर्धा गराइने प्रतियोगितामा दौडतर्फ १ सय मिटर, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटरमा प्रतिस्पर्धा गराइने छ । त्यस्तै १ सय मिटर र ४ सय मिटरको रिले दौडसँगै हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रोमा प्रतिस्पर्धा हुनेछ।

४७ स्वर्णसहित रजत र काश्य पदकका लागि प्रतिस्पर्धा गराइने प्रतियोगिता विजेता प्रथमले नगद ५५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ। दोस्रो हुने विद्यालयले ५० हजार, तेस्रोले ४५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगिता स्थल आउन टाढा पर्ने विद्यालयहरूलाई आयोजकले दूरीकबा आधारमा व्यवस्थापन तथा आउजाउ खर्च बेहोरिदिने भएको छ। जस अनुसार सबैभन्दा टाढा रहेका फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका विद्यालयलाई ४० हजार, बास्पानी र सप्तेश्वरका विद्यालयलाई ३५ हजार र बाक्सिलाका विद्यालयलाई ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराउने जनाइएको छ। तर, प्रथम, दोस्रो र तेस्रो स्थान पाउने विद्यालयलाई भने सो सुविधा उपलब्ध हुने छैन।  

पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा सोही विद्यालयको खेल मैदानमा सुरु प्रतियोगिता गाउँपालिकाले प्रायोजनमा आयोजना गरिएको हो। प्रतियोगिता गर्न गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा ८ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए।  

चार दिन चल्ने प्रतियोगिताको आइतबार गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रूपमा उद्घाटन गरे। गत वर्षको प्रतियोगितामा पृथ्वी माविले सिल्ड चुमेको थियो। गत वर्ष २३ स्वर्ण, १० रजत र ७ कांस्य पदक लिँदै चुमेको शिल्ड यस वर्ष आफ्नै आँगनमा सञ्चालन भइरहेको प्रतियोगितामा पृथ्वी माविले शिल्ड सुरक्षित गर्न गर्दैन त्यो भने प्रतिक्षाको विषय बनेको छ।

प्रकाशित: २६ माघ २०८२ १७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App