२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

शंकरको नजरमा एमाले सक्काउन लागेका ‘चार शत्रु’: कसको भूमिका के?

नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्नै अभिव्यक्तिले बेलाबेला चर्चामा आइरहन्छन्। सामाजिक सञ्जालमा सक्रिय रहने उनी भाषणमा पनि खरो र विवादित कुरा बोल्न पछि पर्दैनन्। यसर्थ विवादमा आउने अभिव्यक्ति दिन उनी खप्पिस नेता नै मानिन्छन्। 

उसो त एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विवादित अभिव्यक्ति दिन सबैभन्दा अघि लाग्छन्। उनै ओलीको निरन्तर सहयोगी पोखरेल अहिले ओलीकै लय पछ्याइरहेका मात्र छैनन्, एमालेभित्रको पछिल्लो गुटबन्दीमा ओलीको दरिलो आड पनि बनेका छन्। 

पार्टी भित्र र बाहिरबाट ओली र एमालेमाथि हमला भइरहँदा त्यसको प्रतिरक्षामा पनि सबैभन्दा अघि उनै पोखरेल देखिने गरेका छन्। यही कारण पनि उनका अभिव्यक्ति पछिल्लो समय चर्चा र विवादका विषय पनि बन्ने गरेका छन्। 

ओली र एमालेको त्यही प्रतिरक्षाकै क्रममा पोखरेलले बिहीबार दिएको अर्को अभिव्यक्ति झन् चर्चित र विवादित बन्ने देखिएको छ। काठमाडौं एमाले जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्न पुगेका पोखरेलले दिएको खरो अभिव्यक्ति अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छाएको छ। जसमाथि कडा टीकाटिप्पणीहरू आइरहेका छन्। 

‘चार शक्ति एमालेविरुद्ध लागेका छन्’

एक घण्टा बढी भाषण गरेका पोखरेलले लगभग पूरै समय ओली र एमालेले गरेको भन्दै दाबी गर्दै आएका काम र प्रतिरक्षामै समय खर्चिएका छन्। भाषणमा उनले विशेष गरी ओली र एमालेमाथि चार वटा शक्तिले हमला गरिरहेको बताएको विषय बढी चर्चामा छ। 

‘अहिले हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वका विरुद्धमा मुख्य गरी चार प्रकारका  शक्तिले साइबर हमला गरिरहेका छन्। यस अर्थमा सामाजिक सञ्जाल हाम्रो विरुद्धमा जस्तो देखिन्छ’, महासचिव पोखरेलले भनेका छन्, ‘तर ती चार प्रकार शक्तिले विरोधले हामी गलत छौँ भन्ने अर्थमा बुझ्नु हुँदैन।’ 

त्यस्ता शक्तिमा उनले ‘राजावादी’, ‘माओवादी–समाजवादी’, ‘पपुलिष्ट’ र ‘बाह्य शक्ति’ रहेको पोखरेलले भनेका छन्। ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्’, पोखरेलले भनेका छन्। 

कसलाई के भने? 

पोखरेलले एमालेविरुद्ध लागेको पहिलो शक्ति राजावादी भएको बताएका छन्। राजावादी एमालेविरुद्ध लाग्नुको कारण उनीहरूका लागि एमाले सबैभन्दा बढी बाधक रहेको दाबी गरेका छन्। 

‘एमाले हुँदैनथ्यो भने राजाले नारायणहिटीमा गएर  श्रीपेच लगाइसक्थे भन्ने परेको छ। श्रीपेच किन लगाउन सकेनन् भन्दा खेरी एमालेका कारणले सकेनन्,’ उनले भने, ‘एमाले सरकारमा छ, एमाले सडकमा छ।’ 

एमालेकै कारण राजावादीले जेठ १५ गतेदेखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खाएको पनि उनले बताएका छन्। उनले भने, ‘त्यस अर्थमा उनीहरू जसरी पनि एमालेलाई कमजोर बनाउने अभियानमा उत्रिएका छन्। गाली गरिरहेका छन्।’ यही कारण एमाले नेताकार्यकर्ताले एमाले र ओलीका पक्षमा केही लेख्दा राजावादीहरू सबैभन्दा पहिला गाली गरिरहेको उनले दाबी गरे। 

‘त्यस कारण एमालेविरुद्ध गाली गर्ने पहिलो जमात राजावादी हो। त्यसबाट हामी आत्तिन जरुरी छैन,’ पोखरेलले भने। 

दोस्रो एमालेलाई सबैभन्दा ज्यादा गाली गर्ने शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको पोखरेलले बताए। ‘कम्युनिस्ट पार्टीका नाममा कम्युनिस्ट पार्टीलाई कमजोर पार्न सबैभन्दा बढी गाली गर्ने माओवादी र समाजवादी नै हुन्,’ उनले भने,‘एमालेका पक्षमा कुनै राम्रा कुरा लेख्नुभयो भने मुख छाडेर को आइपुग्दछ भने माओवादी र समाजवादी नै छन्।’ 

उनीहरू आउनुको कारण नेपालमा वामपन्थी जनमतको मूल शक्ति एमाले कमजोर भएन भने आफ्नो भविष्य सुरक्षित हुन्न भन्ने लाग्नु रहेको पोखरेलले बताए। 

माओवादी केन्द्र र नेकपा एसलाई उनले ‘अस्थिरताका वाहक’ र ‘विदेशीका भरिया’ भनेर टिप्पणी पनि गरे। ‘अर्को उनीहरूको कुण्ठा कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर पनि हो। ३२ सिट म्याजिक नम्बर भन्दै हिँडेका प्रचण्ड(माओवादी अध्यक्ष पुष्पकमल दाहाल) अहिले छटपटाइराखेका छन्,’ पोखरेलले भने।  

यस्तै एमालेविरुद्ध लागेको तेस्रो शक्ति ‘पपुलिस्ट अराजकतावादी’ रहेको पोखरेलले बताए। त्यसमा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र काठमाडौं महानगरपालिकाका बालेन साहहरू’ भनेर नामै लिए। 

‘हेर्नुभयो भने रवि लामिछाने र त्यसका समर्थकहरू, बालेन र त्यसका समर्थकहरू कसका विरुद्ध खनिन्छन्? एमालेकै विरुद्ध खनिन्छन्,’ पोखरेलले अगाडि भने, ‘किन खनिन्छन् भन्दा खेरी उनीहरूको गलत नीति र प्रवृत्तिको प्रतिवाद गर्न सक्ने वैचारिक रूपमा सामना गर्न सक्ने, गलत चिजको विरोध र भण्डाफोर गर्न सक्ने एमाले सामर्थ्य एमालेसँग छ भन्ने कुरा उनीहरूले बुझेका छन्। यसर्थ एमालेविरुद्ध खनिन्छन्।’ उनीहरूले समाजमा घृणाको संस्कृति फैलाइरहेको र त्यसको निसानामा एमाले रहेको उनले दाबी गरे। 

यस्तै चौथो शक्तिका रूपमा एमालेविरुद्ध ‘बाह्य शक्ति’ लागेको पोखरेलले टिप्पणी गरेका छन्। तर उनको त्यो बाह्य शक्ति कुन कुन हुन् भन्ने विषयमा खुलासा भने गरेनन्। 

‘चौथो शक्ति जसले हाम्रो खोइरो खनेको छ। हामीलाई मनै पराउँदैन,’ पोखरेलले भने, ‘एमाले हुँदैनथ्यो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने बाह्य शक्ति नै एमालेविरुद्धको मिसनमा लागेका छन्।’ एमालेले नाकाबन्दीको सामना गरेको,  एमालेले राष्ट्रिय सामर्थ्यको निर्माण गरेको, एमालेले नै गुमेको भूभाग समेटेर नक्सा जारी गरेको, एमालेले नै नेपालको राष्ट्रिय स्वार्थका हितमा अन्तर्राष्ट्रिय मञ्चमा आँखा जुधाएर कुरा गरेको पोखरेलले दाबी गरे। 

यस्ता चार शक्तिले एमालेविरुद्ध षडयन्त्र गरिरहेको पोखरेलले दाबी गरे। ‘षडयन्त्र गर्नेको प्रहारबाट पार्टी र नेतृत्वको रक्षा गर्ने जिम्मेवारी हाम्रो होइन र?,’ उनले कार्यकर्तामाझ प्रश्न गर्दै अगाडि भने , ‘स्वाभाविक रूपमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रमण भएको छ भने यो पार्टीको रक्षा अध्यक्ष कमरेडका पक्षमा पार्टीका नेता कार्यकर्ता उभिनु पर्दछ।’  

एमालेविरुद्ध कस्तो भूमिका छ? 

पोखरेलले भनेजस्तै अहिले राजावादी, माओवादी केन्द्र–नेकपा एस, रास्वपा–बालेन र बाह्य शक्ति(भारत)सँग एमालेको सम्बन्ध राम्रो छैन। तर एमालेलाई ‘सक्काउन’ को कति लागेका छन्? यो प्रश्नको वस्तुगत उत्तर भने महासचिव पाेखरेलले नै दिनसक्छन्। तर केही विषय यहाँ प्रस्तुत गरेका छाैँ।

राजावादी: नेपालमा गणतन्त्र स्थापना भएदेखि नै राजतन्त्रको पक्षमा वकालत गरिरहेको शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) हो। जसको नेतृत्व विगतमा अहिले राप्रपा नेपाल चलाइरहेका कमल थापाको काँधमा थियो भने अहिले राजेन्द्र लिङ्देन अध्यक्ष छन्।

एमाले र ओलीको सम्बन्ध विगतमा थापा र लिङ्देन दुवैसँग सुमधुर नै थियो। लिङ्देन र ओली दुवैको गृह जिल्ला झापा हो। लिङ्देनलाई पछिल्ला दुई संसदीय निर्वाचनमा जित दिलाउन ओलीकै भूमिका छ। झापा–३को निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाविरुद्ध एमालेले २०७४ र ०७९ का दुवै निर्वाचनमा लिङ्देनलाई मतदान गरेको थियो। त्यसको बदलामा ओलीले झापा–५ मा आफू जित्न राप्रपाको सहयोग लिएका थिए। ०७९ को प्रतिनिधिसभा निर्वाचनमा त एमालेले राप्रपासँग चुनावी गठबन्धन नै थियो। 

ओलीकै आग्रहमा लिङ्देन ०७९ पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी नै बनेका थिए। 

यस्तै राप्रपा अध्यक्ष थापालाई पनि मकवानपुरमा ओलीले एमालेको निर्वाचन चिन्ह सूर्य दिएर प्रतिनिधिसभामा उम्मेदवार बनाएका थिए। २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा थापालाई परराष्ट्र मन्त्री पनि बनाएका थिए। 

पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह हौसिएर आन्दोलनमा उतार्दा भने ओलीसँग लिङ्देन र थापालगायतका राजावादीको सम्बन्ध खलबलिएको छ। आफू प्रधानमन्त्री रहँदा सडकमै उत्रिएर आन्दोलन गरेपछि ओली पनि राजावादीसँग रुष्ट छन्। 

माओवादी–समाजवादी: एमाले र माओवादी–समाजवादीको सम्बन्धको टकराब नेकपाको विभाजन कालदेखि नै चर्को छ। २०७४ को निर्वाचनमा पहिले बाम गठबन्धन र त्यसपछि पार्टी एकीकरण गरेर एक भएका ओली–दाहालको झगडा दुई पटक संसद् विघटनदेखि पूर्ववत् अवस्थाका पार्टीमा फर्कियो।

यद्यपि दुवै पार्टी सङ्लो पनि रहन सकेनन्। माओवादीबाट केही नेता एमालेमा गए। माधवकुमार नेपाल, झलनाथ खनालहरूले एमाले विभाजन गरेर नेकपा एस बनाए। 

त्यसयता एमाले र विभाजनपछि बनेको पार्टी नेकपा एसको स्थिति पानी बाराबारको छ। दाहाल–ओलीको सम्बन्ध भने कहिले मिल्ने, कहिले छुट्टिने क्रममा चलिरहेकै छ। पछिल्लो समय ओलीले एकाएक धोका दिएर कांग्रेससँग गठबन्धनमा पुगेपछि दाहाल प्रधानमन्त्री पदबाट बाहिरिएपछिको अवस्था भने सुखद छैन। दाहाल र माओवादी एमालेविरुद्ध खरो उत्रिएका छन्। 

रास्वपा–बालेन: ०७९ मंसिरको निर्वाचनमा पुराना दललाई गाली गर्दै रास्वपाले एकाएक चौथो ठुलो जनमत बटुलेको थियो। एक महिनामै रास्वपा सभापति रवि लामिछाने आफैले गाली गरेका एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा झुल्किए। रविले एमालेसँग मिलेर पुस १० गते माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकार बनाउन भूमिका खेल्दै आफै उपप्रधान एवं गृहमन्त्री बने।

त्यसपछि एकवर्ष अघिसम्म रवि–रास्वपा र एमाले–ओलीको सम्बन्ध निकै सुमधुर थियो।  जब अघिल्लो असारमा ओलीले कांग्रेससँग मिलेर सरकार बनाए। त्यसपछि रास्वपा प्रतिपक्षमा पुग्यो। सहकारी ठगीमा डामिएका रवि अनुसन्धान, प्रहरी हिरासत, मुद्दा मामिला हुँदै पुर्पक्षका लागि थुनासम्म पुगे।  

ओली प्रधानमन्त्री हुँदा यति सब भएपछि अहिले रास्वपा ओली र एमालेविरुद्ध खरो रूपमा खनिएको छ। 

यस्तै पहिले न्युरोड सडक बिस्तार र त्यसपछि प्रमुख प्रशासकीय अधिकृत विवादमा काठमाडौं महानगरका मेयर बालेन र एमाले आमने–सामने भएका छन्। एमालेकै नेतृ उपमेयर सुनिता डंगोलसँग पनि बालेनको सम्बन्ध बिग्रिएको छ। बालेनले बेलाबेला फेसबुकबाटै ओली र एमालेविरुद्ध आक्रोश पोख्ने गरेका छन्। 

बाह्य शक्ति(भारत): पोखरेलले भनेको एमालेविरुद्ध लागेको चौथो शक्ति भारत हो। पछिल्लो समय भारतले नेपालमा ओली नेतृत्वमा सरकार बनेको रुचाएको छैन। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बेलाबेला ओली सरकारका पक्षमा भारतलाई सकारात्मक बनाउन प्रयास गरे पनि सफल भएको छैन। 

जसको प्रमाण भारतले अहिलेसम्म ओलीलाई आधिकारिक भ्रमणको निम्तो नै दिएको छैन। प्रधानमन्त्री हुनासाथै भारत भ्रमण चाहेका ओली एक वर्ष बित्दा पनि निम्तो नपाउँदा आजित छन्।  

प्रकाशित: १२ असार २०८२ १९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App