१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

जसपा नेपाललाई एमालेले भन्यो: ‘समर्थन फिर्ता लिने निर्णय नगरेको भए राम्रो हुन्थ्यो'

फाइल।

नेकपा (एमाले) ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयप्रति असन्तुष्टि जनाउँदै अहिले यस्तो कदम चाल्नुपर्ने कुनै कारण नरहेको बताएको छ।

बुधबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जसपाले समर्थन फिर्ता लिने निर्णय गरेको अनौपचारिक जानकारी पाए पनि त्यसको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरे।

‘उहाँहरूले समर्थन फिर्ता लिने निर्णय नगर्नुभएको भए राम्रो हुन्थ्यो,’ ज्ञवालीले भने, ‘अहिले समर्थन फिर्ता गर्नुपर्ने कुनै कारण नै देखिँदैन।’

ज्ञवालीले केही समयअघि सरकारले ल्याएका अध्यादेशहरूमध्ये भूमि सम्बन्धी अध्यादेशमा जसपाको असन्तुष्टि रहेको स्वीकार गरे। तर, उक्त असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले अध्यादेश निष्क्रिय पारिसकेको र नियमित संसदीय प्रक्रियाबाटै कानुन ल्याउने सहमति भइसकेको उनले स्पष्ट पारे।

‘उहाँहरूको भूमिसम्बन्धी अध्यादेशमा रिजर्भेसन थियो, त्यसैले हामीले त्यसलाई निष्क्रिय बनायौं,’   ज्ञवालीले भने, ‘नियमित विधायिकी प्रक्रियाबाट ल्याउँदा छलफल गर्ने सहमति भएको थियो। त्यसबाहेक अरू कुनै विषयमा मतभेद भएको हाम्रो जानकारीमा छैन।’

एमालेले जसपाको निर्णयबारे औपचारिक जानकारी र कारणहरूको प्रतीक्षा गरिरहेको बताएको छ। ‘उहाँहरूले के-के कारणले समर्थन फिर्ता लिने निर्णय गर्नुभयो भनेर जानकारी गराउनुहोला, त्यसपछि हामी आफ्नो धारणा बनाउनेछौँ,’ उनले थपे।

प्रकाशित: ११ असार २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App