६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम!

मुक्तक

१) मुक्तक

साँचिलाे भै चेपाराे पार्न छाेडेकाे छु अचेल

भाेलि भनेर भाखा सार्न छाेडेकाे छु अचेल

अरू रिसाउने हुन् कि भन्ने साेचेर मनमा

आफ्नो चाहना त्यसै मार्न छाेडेकाे छु अचेल।

२) मुक्तक

यहाँको कथाव्यथा अपरम्पार छ

जाे भ्रष्टाचारी उही इमानदार छ

नातागाेता, आत्मीय भाड मे जाए

रूपैयाँकाे सम्बन्ध मात्रै दमदार छ।

३) मुक्तक

बाँचुन्जेल पाइला-पाइलामा गुलामी चाहिन्छ

मरेपछि तामझामसहितको मलामी चाहिन्छ

सास रहुन्जेल कुनै हालतमा छाेड्दैनन् कुर्सी 

घाटमा पनि एकतीस् ताेपकाे सलामी चाहिन्छ।

४) मुक्तक

जताततै रक्ताम्य फाँट देखिए

फाँटमा आशालाग्दा आँट देखिए

धिप्‌धिप् गर्दैछ परिवर्तनको बत्ती

जब नयाँमा पुरानाझैं छाँट देखिए।

५) मुक्तक

कहिले बाध्य भई इच्छाहरू खाेस्नुपर्छ

आफ्नो मनलाई तातो भुङ्ग्राेमा झाेस्नुपर्छ

यस्तै छ चलन समाजमा पहिल्यैदेखि

सम्पूर्ण रित्याएर अरूलाई पाेस्नुपर्छ।

६) मुक्तक

भताभुङ्ग छ सर्वत्र, जता हेर्‍यो भद्रगोल चाला छ

इमान्दारलाई सूली, बेइमानलाई वरमाला छ

भ्रष्टाचारको महाराेगले गाँज्दै गएको याे देशमा

शासन छ धृतराष्ट्रकाे, शकुनीहरूकाे बाेलवाला छ।

७) मुक्तक

समय सधैँभरि एकनास हुँदैन

फूल झरेपछि त्यसमा सुवास हुँदैन

मतलबका लागि सदा निहुरिन्छ मान्छे

स्वार्थ पुगेपछि काेही उसको खास हुँदैन

८) मुक्तक

सधैं भद्रगोल देखिने जात्रा हाे जिन्दगी

छाेड्न नमिल्ने औषधिकाे मात्रा हाे जिन्दगी

बाधा-अवरोध हाँसीहाँसी छिचाेल्न सके

एउटा साह्रै रमाइलो यात्रा हाे जिन्दगी।

९) मुक्तक

जिन्दगीले जिताउन्न सधैँ, कैलेकाँही हार्न सिकाउँछ

आइपर्ने बाधाहरूलाई, हाँसीहाँसी टार्न सिकाउँछ

हाम्रो बाटोमा कसैले खाल्डाे खन्याे भनेर किन आत्तिनु

यस्तै कारणले मान्छेलाई लामाे फड्को मार्न सिकाउँछ!

१०) मुक्तक

सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम

जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम

बाँचुञ्जेल कैल्यै मीठो वचन नसुनेकाे उस्लाई

मरेपछि गरिने प्रशंसा र सम्मानकाे के काम।

प्रकाशित: १५ माघ २०८२ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App