१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्वमुख्यमन्त्री राजेन्द्रलाई मन्त्री भूपेन्द्रको 'काउन्टर': २ अर्ब २७ करोड लान नपाउँदा झुरेष्ट हुने ?

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको पालादेखि बजेट बिग्रिएको आरोप लगाएका छन्। बुधबार (आज) बसेको प्रदेशसभा बैठकमा भाग लिँदै मन्त्री राईले यस्तो आरोप लगाएका हुन्। 

'बजेट बिग्रिएको कसको पालादेखि हो ? हामी गएको प्रदेश सभामा थिएनौँ होला तर, यो प्रदेशका जिम्मेवार नागरिक त हौँ नि, हामीले हेरेका छैनौँ ? अहिले महत्त्वपूर्ण मन्त्रालय त जिम्मेवारीपूर्वक चलाइरहेका छौँ नि, हामी हेर्दैनौँ त्यो फाइलहरू ?,' उनले पूर्वमुख्यमन्त्री राईलाई सोधे।

यसअघि पूर्वमुख्यमन्त्री राईले यसपटकको बजेट 'झुर' भएको टिप्पणी गरेका थिए। त्यसको काउन्टरमा मन्त्री राईले उनकै पालादेखि बजेट बिग्रन सुरु भएको बताए। पूर्वमुख्यमन्त्री राईले २०७९/८० को बजेटमा भोजपुरमा मात्रै २ करोड २७ लाखभन्दा बढी बजेट लगेको बताए।

'२०७९/८० को बजेटलाई सामान्यतया: मैले खोतल्ने प्रयास गरेँ। उहाँहरूले प्रश्न उठाएपछि, नत्र भने यसरी अर्काको फाइल खोल्ने हामीलाई त्यो फुर्सद छैन। कसले के बोल्यो, त्यसपछि मात्रै खतलिने हो कुराहरू। कोट्याएपछि गन्हाउँछ भन्छन् नि, एउटा नेपाली उखान छ नि। उहाँले अस्ति गम्भीरतापूर्वक प्रश्न उठाउनुभयो, विशेष समय लिएर। अनि हामीले पनि हेर्नुपर्‍यो नि, फाइल त त्यहीँ छ नि। हामीले हेर्‍यौँ। २०७९/८० को बजेट हेर्दैगर्दा उहाँले यसपटकको बजेटले सन्तुलन गुमायो भन्नुभयो, पाँचथरमा हेरेको एक अर्बभन्दा बढी बजेट लानुभएको रहेछ। भोजपुरमा हेरेको २ अर्ब २७ करोडभन्दा बढी बजेट लानुभएको रहेछ। अनि त्योचाहिँ झुरेस्ट भएन ? राम्रो भो ? आगामी वर्षका लागि ल्याएको बजेट झुरेस्ट भन्नुभयो, अनि २ अर्ब २७ करोड लान नपाउँदा झुरेस्ट हुने ? यस्तो पनि हुन्छ ?,' उनले सोधे।

नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका राईले भनेका थिए, ‘अहिले जस्तो इतिहासकै झुरेष्ट बजेट पहिले पनि आएको थिएन । भविश्यमा पनि आउँदैन तर, उहाँहरूकै नेतृत्वमा सरकार बनेको खण्डमा भने  अझै झुर बजेट नआउला पनि भन्न सकिँदैन ।’

यो पनि पढ्नुहोस्

कोशीको बजेट इतिहासकै सर्वाधिक झुर : पूर्वमुख्यमन्त्री राई

प्रकाशित: ११ असार २०८२ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App