सत्तारूढ दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदलाई निर्देशन दिएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबार ह्विप जारी गर्दै मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने भएकाले अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न भनेको हो।
सोमबार मात्र कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका थिए।
दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने बताएको निकट स्रोतको दाबी छ।
यसैबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक एक दिनपछि धकेलेको छ। पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञिप्त जारी गर्दै असार १५ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक असार १६ गते पार्टी केन्द्रीय कार्यालयमै बस्नेगरी सारिएको जनाइएको छ।
प्रकाशित: १० असार २०८२ ०७:४१ मंगलबार




