पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इरानमाथि भएको अमेरिकी सैन्य आक्रमणलाई ‘क्रूर र फासिस्ट’ भन्दै निन्दा गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू ध्वस्त पारेको दाबी गर्नुले विश्वमा ‘जङ्गली राज’ को नमुना प्रस्तुत गरेको टिप्पणी गरे।
उनले यो आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र देशहरूबीचको सामान्य सम्बन्धको नियमविपरीत भएको बताए।
‘यतिबेला इरानले कुनै आणविक अस्त्र निर्माण गरेको अवस्था थिएन। शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक अध्ययन, अनुसन्धान र विकास गर्न कुनै पनि राष्ट्र स्वतन्त्र छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बम वार्डिङले शान्ति होइन, मध्यपूर्व भरि नै प्रतिरोधका ज्वालाहरू दन्किने सम्भावना देखिएको छ।’
उनले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वको अशान्तिको मुख्य कारक रहेको आरोप समेत लगाए।
पूर्वप्रधानमन्त्री खनालले अमेरिकी आक्रमणकारीहरू तत्काल मध्यपूर्वबाट हट्नुपर्ने र त्यस क्षेत्रका जनताको शान्तिको चाहनालाई सम्मान गर्नुपर्ने माग गरेका छन्।
उनले आफ्नो पार्टी इरानी जनताको प्रतिरोध संघर्षको समर्थनमा रहेको स्पष्ट पार्दै मध्यपूर्वमा दिगो शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ र विश्व समुदायले गरिरहेका प्रयत्नलाई समर्थन गर्ने बताए।
मध्यपूर्वमा तनाव बढ्दा लाखौं नेपाली श्रमिकको जीवन जोखिममा पर्न सक्ने भन्दै उनीहरूको उद्धारका लागि तम्तयार रहन नेपाल सरकारलाई आग्रह समेत गरेका छन्।
‘युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरूको जीवन अस्त व्यस्त हुन सक्छ। उनीहरुको संरक्षण र उद्धार गर्नका निम्ति तम्तयार रहन म नेपाल सरकारलाई पनि जोडदार आग्रह गर्दछु।’

प्रकाशित: ९ असार २०८२ १५:१४ सोमबार