३१ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेलबाट रविको दाबी: ओलीले दिएको तथाकथित एनटिभीको जागिरबाट एक पैसा लिइनँ

‘जेलको कोठरीमा जीवनको समीक्षा गर्दैछु’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जेलको कोठरीबाट जीवनको समीक्षा गरिरहेको बताएका छन्। शनिवार रास्वपाको तेस्रो स्थापना दिवसमा सार्वजनिक गरेको ‘१९ पन्ने अपिल’मा लामिछानेले उक्त कुरा लेखेका छन्। 

‘जेलको कोठरीबाट आज म आफ्नै जीवनको समीक्षा गरिरहेको छु। त्यो समीक्षा म तपाईँहरूलाई पनि सुनाउन चाहन्छु,’ लामिछानेले लेखेका छन्, ‘तर, नेताका रूपमा होइन एउटा छोराका रूपमा, एउटा भाइ वा दाइका रूपमा एउटा सामान्य नागरिकका रूपमा मैले कहिल्यै सोचेको थिइनँ।’ 

आफू  पनि राजनीतिमा आउने कुरा कुनै दिन नसोचेको उनले लेखेका छन्। ‘विद्यार्थी जीवनमै मिडियामा लागेँ। टेलिभिजन र एफएमतिर छोटे मोटे सेलिब्रेटी भइसकेको थिएँ । तर, अलि राम्रो जीवन बाँचिएला कि भनेर अमेरिका भासिएँ,’ लामिछानेले अगाडि लेखेका छन्। 

 अमेरिका बस्दा मन नरमाएको उनले दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘फर्किन्छु भन्दाभन्दै चौध वर्षको धनवास भन्ने कि वनवास बिताइयो।’ त्यसपछि ‘संसारकै लामो टेलिभिजन टक सोको रेकर्ड राख्न मन लागेको’ उनले लेखेका छन्। 

‘कुनै लोकल टेलिभिजन खोजेर अमेरिकामै त्यो रेकर्ड राख्न नसकिने थिएन। तर मनले भन्यो, तँ यसका लागि पनि देश फर्किनस् भने पछि के फर्केलास् ? अनि, नेपाल आएर गिनिज बुकमा नाम दर्ज पनि गरेँ,’ लामिछानेले अपिलमा लेखेका छन्।

त्यसपछि लामिछानेले ‘सञ्चार कर्ममा फर्किन चाहेको’ कुरा उल्लेख गरेका छन्। ‘तर, त्यो एकदमै सिर्जनात्मक र परिणाममुखी होस् भन्ने थियो । मलाई त्यति खेरसम्म प्रधानमन्त्रीहरू माथि भ्रम थियो,’ उनले अपिलमा लेखेका छन्, ‘मैले सरकार र जनताबिच संवादको ठुलो खाडल देखेँ।’ 

त्यसपछि उनले केपी शर्मा ओली चाँडै प्रधानमन्त्री बन्दै छन् भन्ने थाहा पाएको र सिधै ओलीलाई फोन गरेको प्रसङ्ग उल्लेख गरेका छन्। ‘न्यु योर्क भेट भएको र छोटो अन्तर्वार्ता पनि गरेको संक्षिप्त चिनजान पनि स्मरण गराएँ र सोधेँ–मेरो कुनै फाइदा नहुने तर प्रधानमन्त्रीका रूपमा तपाईँले गर्नै पर्ने केही कामको कुरा गर्छु, आधा घण्टा समय दिन सक्नुहुन्छ ?’ 

त्यसपछि आफूले ‘म केवल तपाईँसँग कुरा गर्छु र मलाई अनडिभाइडेड अटेन्सन चाहिन्छ । मेरो व्यक्तिगत लाभको एउटा पनि कुरा गर्दिनँ’ भनेर भनेको पनि लामिछानेले लेखेका छन्। ‘उनकै फाइदाको कुरा थियो, ओली कन्भेन्सन भए,’ लामिछानेले लेखेका छन्। ओली प्रधानमन्त्री भएको केही समयमा सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु भएको लामिछानेले भनेका छन्। 

‘अहिले ओलीले रवि लामिछानेलाई जागिर दिएँ भनेको सुनेँ। तर, त्यो तथाकथित जागिरबापत मैले ओलीबाट एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन,’ लामिछानेले दाबी गर्दै लेखेका छन्। त्यो कार्यक्रमबाट आफूले एउटा कुरा ज्ञानबाहेक केही नलिएको उनले अगाडि दाबी गरेका छन्। 

यही विषयमा गत वर्ष प्रधानमन्त्री ओलीले रास्वपा सभापति लामिछाने बेरोजगार भएर हिँडिरहेका बेला जागिर लगाइदिएको भनेका थिए। त्यसकै जवाफमा लामिछानेको अहिलेको अभिव्यक्ति आएको हो। 

‘रवि बाबु जबलेस भएर हिँडिरहेका बेला म कहाँ आउनुभयो । मलाई कुनै जब दिनुपर्‍यो म अप्ठेरोमा परेँ,’ ओलीले भनेका थिए, ‘मैले के जानेको छु भन्दा मेरो बोल्ने कला छ । मैले पनि कला होला भन्ठानेँ। म पत्रकारिता गर्न सक्छु भने।’ 

त्यसपछि एनटिभीमा रविकै लागि कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीले बताएका थिए। ‘त्यसो भए म बाबुकै लागि एनटिभीमा एउटा प्रोग्राम राख्छु । सीधा कुरा प्रधानमन्त्रीसँग भन्ने प्रोग्राम राख्छु । त्यसको पैसा पनि एनटिभीलाई दिनुपर्दैन । विज्ञापन बजाएर जिविका चलाउनुस् भनेपछि महिनामा दुई÷चार लाख ८–१० लाख उठाएर जिविका  चलाए,’ प्रधानमन्त्री ओलीले भनेका थिए। 

प्रकाशित: ७ असार २०८२ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App