२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

थुनाबाट अदालतविरुद्ध लामिछानेको ‘भद्दा’ टिप्पणी

धरौटीमा छुट्दा ‘न्याय’, थुनामा पर्दा ‘अन्याय’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ‘१९ पन्ने अपिल’मार्फत अदालत र न्यायपालिकाविरुद्ध ‘भद्दा’ टिप्पणी गरेका गरेका छन्। रास्वपाको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले रुपन्देही कारागारबाट जारी गरेको अपिलमा अदालतविरुद्ध नै टिप्पणी गरेको देखिन्छ।

लामिछानेको नामबाट जारी अपिलमा सुरुमै आफू अरूमाथि भइरहेको अन्याय विरुद्ध नबोली बस्न नसक्ने दाबी गर्दै अहिले आफू विरुद्धको अन्यायमा भने बोल्न नसकेको उल्लेख गरेका छन्। 

‘तपाइँहरुलाई थाहै छ, म कसैमाथिको कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ । बोलेरै विश्व कीर्तिमान राखेको मान्छे पनि हुँ,’ लामिछानेले लेखेका छन्, ‘तर, यिनीहरूले यस्तो जाल थापे कि, आफैँमाथिका अपराध र अन्यायमा पनि म बोल्न सकिनँ ।’ 

आफ्ना कानुन व्यवसायीले निरन्तर ‘तपाईँ देशकै सबैभन्दा ठुलो आपराधिक गिरोहसँग न्यायिक लडाइँ लड्दै हुनुहुन्छ, एउटै आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर यिनीहरूले थप कानुनी झमेलामा फसाउन सक्छन्, त्यसैले तपाईँ बोल्न हुँदैन’ भनेर भनेको लामिछानेले अपिलमा उल्लेख गरेका छन्। 

त्यसपछि लामिछाने आफूलाई लागेको सहकारी ठगी सम्बन्धी मुद्दाको प्रसङ्गमा प्रवेश गरेर अदालती आदेशविरुद्ध खनिएका छन्। 

‘चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ–नौ वटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुन्ड्याइएको व्यक्तिले कानुन व्यवसायीको राय नसुन्न पनि मिलेन’, लामिछानेले लेखेका छन्। 

मुद्दा चलिरहँदाको त्यो मौनता आफूलाई बिझाएको उनले अगाडि लेखेका छन्। ‘चाहे अरू जति वटा झुटा मुद्दा खेप्न परोस्, अब बोल्छु भन्ने लागेरै चैत १८ गते पार्टी कार्यालयबाटै घोषणा गरेँ, चैत २३ गते चितवनमा बोल्छु,’ लामिछानेको अपिलमा लेखिएको छ, ‘संयोग मानौँ कि सत्य, परिणाम मेरा कानुन व्यवसायीले चेतावनी दिएजस्तै भयो । चैत २२ गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गयो ।’ उच्च अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध यस्तो लेखेका लामिछानेले त्यसपछि सर्वोच्चको आदेशविरुद्ध पनि टिप्पणी गरेका छन्, ‘अब त सर्वोच्च पनि थपिइसकेको छ।’ 

त्यसपछि उनले आफू विरुद्धको षडयन्त्र नसकिएको भन्दै ‘२०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ’ भनेर न्यायपालिकामाथि नै प्रश्न उठाएका छन्। 

‘यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको अड्डा अदालत यिनको, मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्ती केन्द्र,’ लामिछानेले अगाडि लेखेका छन्। 

माथिल्ला अदालतबाट पुर्पक्षका लागि थुनाको आदेश आउँदा यसरी न्यायपालिकामाथि नै भद्दा टिप्पणी गरेका लामिछाने र उनका समर्थकले जिल्ला अदालतबाट करोडौँ धरौटी लिँदा भने अदालतले न्याय दिएको बताउने गरेका थिए। 

प्रकाशित: ७ असार २०८२ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App