पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार गर्न थप पाँच दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जनाउँदै समितिले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समय थपका लागि पत्राचार गरेको हो।
मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा १५ दिनको कार्यावधि प्रदान गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।
समितिका सदस्य नेउपानेका अनुसार छानबिनको मुख्य काम सम्पन्न भइसकेको छ भने प्रतिवेदन लेखन मात्र बाँकी छ। उनले छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिन थप पाँच दिन आवश्यक परेको बताए।
समितिले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप समय आवश्यक पर्नेबारे मौखिक जानकारी गराइसकेको थियो। यस क्रममा समितिले सुधन गुरुङसँग बयानसमेत लिइसकेको छ। गुरुङको बयान लिने प्रक्रिया पूरा भएको र अब प्रतिवेदन तयार पार्ने काम मात्रै बाँकी रहेको नेउपानेले जानकारी दिए।
व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीका विषयमा समितिले छानबिन गरिरहेको छ। भट्टको कम्पनीमा गुरुङको नाममा रहेको सेयरबारे प्रश्न उठेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
गुरुङले उक्त सेयर खरिदका लागि रकम सापटी लिएको दाबी गर्दै आएका छन्। छानबिनका क्रममा भट्टको कम्पनीमा उनको नाममा करिब ५० लाख रुपैयाँ बराबरको सेयर रहेको तथ्य सार्वजनिक भएको थियो।
प्रकाशित: १८ जेष्ठ २०८३ २१:४५ सोमबार





