कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई आफुले हातपात नगरेको प्रतिक्रिया दिएका छन् ।
प्रेस युनियन ताप्लेजुङले शुक्रवार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हाङगामले ‘फलानालाई ठिक पाछु भन्दै’ हिडेंको बिषयमा आफुले सोधखोज गर्दा भनाभन भएको र सोही क्रममा आफुले प्रतिरक्षा मात्र गरेको दाबी गरेका हुन्।
‘खगेनसिंलाई ठिक पार्नु छ भन्दै हिड्छौं रे भाइ,यो के भनेको मैले सोधेँ,उसले त्यो भन्ने को हो यहाँ ल्याउनुहोस् भन्दै ठूला कुरा गर्न थाल्यो।’हाङगामले भने ।
यही क्रममा दुई–चार थप्पड हान्नुभयो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री हाङगामले थप्पड त उसले पनि मलाई हान्यो होला भन्ने प्रतिक्रिया दिए । हाङगामले आफूसँगको मा भेटमा थेबेले बोकेको शंकास्पद बस्तु के हो भनेर छानबिन हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमले थेबेले बोकेको शंकास्पद बस्तुबारे जवाफ दिनुपर्ने मन्त्री हाङगामको भनाई छ । यो बिषयमा आफुले नेपाल सरकारका गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीसँग समेत कुरा गर्ने हाङगामले बताए ।
घटनाका बेला त्यहाँ प्रहरीको एक क्यूआरटी टोली समेत रहेकोले प्रहरीले घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने हाङगामको भनाई थियो ।
केहिदिन अघि फुङलिङस्थित दोबाटो छेउमा हाङगाम र थेबेबिच झगडा भएका खबर बाहिर आएको थियो। थेबे आफूप्रति सुनियोजित रुपमा उभिएको हाङगामको दाबी छ । यता थेबेले भने आफूमाथि कुटपिट भएको बताउँदै नजिकै रहेका स्थानीय र आसपासका सिसि टिभी फुटेज घटनाको अनुसन्धानका लागि काफी रहेको प्रतिक्रिया दिएका छन्।
‘छलफल र बहस हुन्छ, तर त्यही छलफलमा रहेको र बहालवाला मन्त्री भएको मान्छे कुटपिटमा उत्रनुलाई थेबेले न्यायोचित नभएको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री हाङगामले कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयबाट भइरहेका काम कारबाही र गतिविधि बारे पत्रकारलाई प्रस्ट्याएका थिए । मन्त्री हाङगामले प्रदेशको उद्योग र कृषि क्षेत्र सुधार्न आफुले उल्लेख्य पहलकदमी लिइरहेको बताए ।
कफी खेतीका लागि यान्त्रिकमा व्यवस्थापन गर्ने, अलैँची खेती सुधारका लागि खेतिमा नयाँपन दिने देखि प्याकेजिङ र ब्राण्डिङमा आधुनिक शैली अपनाउने कार्यमा आफ्नो सार्थक पहल अघि बढिरहेको मन्त्री हाङगामको भनाई थियो । सहकारी समस्या समाधान गर्न आफ्नै मन्त्रालयमा रहेर समस्या समाधान निर्देशक समितिले काम गरिरहेको उनले बताए ।
प्रकाशित: ६ असार २०८२ ११:५६ शुक्रबार





