२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

बोर्डको अनुरोध अस्वीकार गरेको टिचिङ स्वास्थ्य बिमा बन्द गर्ने अडानमै

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) माघदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने अडानमै कायम रहेको छ। बुधबार दिउँसोसम्म अस्पतालले यसअघि जारी गरेको सूचनामा कुनै निर्णय परिवर्तन नगरेको जनाएको छ। अस्पतालले गत सोमबार सूचना जारी गर्दै माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने घोषणा गरेको थियो।

स्वास्थ्य बिमा बोर्डले अस्पतालको भुक्तानी मागदाबी अनावश्यक रूपमा अस्वीकार गर्ने, शुल्कदर परिवर्तन गर्ने जस्ता कारणले अस्पताल आर्थिक रूपमा मर्कामा परेको टिचिङ अस्पतालको भनाइ छ। अस्पतालले आफ्नै दररेटअनुसार भुक्तानी हुनुपर्ने, मागदाबी प्रक्रियामा रहेका अनावश्यक झन्झट हटाइनुपर्ने माग राख्दै ती सुधार भएमा मात्र सेवा निरन्तरता दिन सकिने स्पष्ट पारेको छ।

यसबीच बोर्डले अस्पतालसँग औपचारिक तथा अनौपचारिक छलफल गरी माग सम्बोधन गर्ने आशयको पत्र पठाएको जनाएको छ। स्वास्थ्य बिमा बोर्डका अध्यक्ष थापाका अनुसार बोर्डले सेवा निरन्तर राख्न अनुरोध गर्दै पत्र पठाएको हो र अन्य उचित मागहरू विज्ञ समितिमार्फत सम्बोधन गरिनेछ। अस्पतालका माग जायज रहेको भन्दै उनले समग्र स्वास्थ्य बिमा सुधारका लागि गठित विज्ञ टोलीले यस विषयमा काम गरिरहेको र प्रक्रिया पूरा भएपछि कार्यान्वयन हुने बताए।

तर बोर्डको पत्रले अस्पतालका माग सैद्धान्तिक रूपमा स्वीकार नगरेको भन्दै टिचिङ अस्पतालले सेवा सुचारु गर्न नसक्ने जनाएको छ। अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार बोर्डले स्पष्ट निर्णय नगरी विषयलाई आलटाल गरिरहेको छ। उनका अनुसार उपत्यकाका सरकारी अस्पतालका हकमा लागू गरिएको उपचार शुल्क दररेट टिचिङ अस्पतालका लागि समेत अमिल्दो र समस्याजनक छ।

शुल्कदर र मागदाबी अस्वीकारका कारण अस्पतालले मासिक दुईदेखि तीन करोड रुपैयाँ घाटा बेहोर्नुपरेको र सेवा सुरु भएयता करिब एक अर्ब रुपैयाँ घाटा भइसकेको डा. आचार्यको भनाइ छ। उपचार खर्चको करिब ५० प्रतिशत रकम अस्वीकार हुँदै आएको उनले बताए। उपत्यकाका अन्य अस्पतालमा पनि यस्तै समस्या देखिएकाले यसअघि गंगालाल अस्पतालले स्वास्थ्य बिमा सेवा बन्द गरिसकेको उदाहरण उनले दिए।

स्वास्थ्य बिमा बोर्ड भने अस्पतालले पटक–पटक उठाउँदै आएको माग विज्ञ टोलीमार्फत सम्बोधन हुने प्रक्रियामै रहेको दाबी गर्छ। अध्यक्ष थापाका अनुसार मागहरू जायज छन् र समाधानतर्फ काम भइरहेको छ।

यदि टिचिङ अस्पतालले स्वास्थ्य बिमा सेवा बन्द गरे दैनिक पाँच सयदेखि पाँच सय ५० जना बिरामी प्रभावित हुनेछन्। तीमध्ये अधिकांश उपत्यकाबाहिरबाट रेफर भएर आएका जटिल रोगका बिरामी हुने अस्पतालले जनाएको छ।

प्रकाशित: ३० पुस २०८२ २०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App