कृषि लागत घटाउँदै उत्पादकत्व बढाउने लक्ष्यका साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कृषकहरूलाई अनुदानमा आधुनिक कृषि यन्त्रहरू वितरण गरेको छ।
नगरपालिकाले एक कार्यक्रम आयोजना गरी पालिकाभित्रका ९२ अगुवा कृषक तथा समूहलाई मिनिटिलर र ३२ कृषक तथा समूहलाई सिँचाइ मोटर उपलब्ध गराएको हो।
बुद्धभूमि नगरपालिका कृषि शाखाका प्रमुख देवीराम बेल्बासेका अनुसार जोताईका लागि प्रयोग हुने मिनिटिलरमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत लाभग्राहीको लगानी रहेको छ।
त्यसैगरी, सिँचाइका लागि प्रयोग हुने मोटरमा नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने कृषकले ३० प्रतिशत मात्र लगानी गर्नुपर्नेछ।
कार्यक्रममा नगर प्रमुख केशवकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले कृषकहरूलाई उपकरण हस्तान्तरण गरेका थिए।
सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताए।
‘कृषिमा आधुनिकीकरणलाई प्रोत्साहन गर्न नगरपालिकाले विगत ८ वर्षदेखि नै लागत सहभागितामा यस्ता कृषि यन्त्रहरू उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘यसले कृषकहरूलाई सहजता थप्ने, लागत घटाउने र आत्मनिर्भर बनाउँदै उत्पादकत्व बढाउन मद्दत पुग्ने हाम्रो अपेक्षा छ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले कृषकहरूलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्न आग्रह गरे।
वितरण गरिएको ७ हर्स पावरको डिजेल इन्जिनयुक्त मिनिटिलरको मूल्य ४३ हजार १२५ रुपैयाँ र २ हर्स पावरको मोटरको मूल्य १६ हजार ४९८ रुपैयाँ तोकिएको छ।
प्रकाशित: ५ असार २०८२ २०:२१ बिहीबार