पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी हुन्।
एमाले अध्यक्ष ओलीले जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका अवसरमा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनका पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएपछि असन्तुष्ट भएकी भण्डारी मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन्। ‘अर्को खेल हुन खोज्या छ यहाँ, अब फलाना आउने अरे, फलाना आउने रे,’ ओलीले भनेका थिए। यही विषयलाई लिएर भण्डारी पनि आफूलाई एमालेका कार्यकर्ता भेटघाट गर्न कसैलाई सोध्नु नपर्ने बताएकी थिइन्।
ओली र भण्डारीबीच कुराकानी नै हुन नपाई द्वन्द्व सिर्जना भएको जस्तो देखिएको थियो। जसले गर्दा मंगलबार भण्डारीले ओलीलाई भेटेर आफ्ना कुरा प्रष्ट राखेकी छिन्। ‘उहाँ (भण्डारी)ले अध्यक्षज्यूसँग प्रष्ट कुरा राख्छु भन्नु भएको थियो, सायद राख्नु भयो होला, पार्टी बिग्रेको विषयमा चिन्ता थियो, उहाँपछि हट्ने कुरा छैन,’ भण्डारी निकट रहेका एक नेताले भने।
उनका अनुसार भण्डरीले राजनीतिमा आउने प्रष्ट धारणा राखिसक्नु भएको छ। भण्डारी निकट रहेका नेताहरूले अध्यक्ष ओलीसँग आफ्ना कुरा प्रष्टसँग राख्न आग्रह गरेका थिए। त्यही अनुरूप मंगलबार ओलीलाई भेट्न भण्डारी बालुवाटार पुगेकी थिइन्।
तर भण्डारीको स्वकीय सचिवालयमा रहेका डा. भेषराज अधिकारीले आफू काठमाडौं बाहिर भएकाले भेटघाटमा के– के कुराकानी भयो भन्ने बारेमा जानकारी नभएको बताए। ‘म काठमाडौंबाहिर थिएँ, उहाँहरूबीच भेटघाट भएको थियो कुराकानी विषयबारे जानकारी छैन,’ डा. अधिकारीले भने। एमालेको विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म आयोजना हुने निर्णय भइसकेको अवस्थाा ओली–भण्डारीको भेटले एमालेको संगठन पंक्तिमा हलचल पैदा भएको छ।
एमालेले अघिल्लो विधान सम्मेलनले नेतृत्वको लागि ७० वर्षे उमेरहद लगाएको थियो। तर, २०८० जेठमा बसेको सचिवालय बैठकले कार्यकारिणी कमिटीमा लगाइएको उमेर हदलाई निलम्बन गरेपछि अहिलेसम्म फुकुवा भएको छैन। माधवकुमार नेपालले स्थापना गरेको नेकपा (एकिकृत समाजवादी) मा गएका मुकुन्द न्यौपाने एमालेमै फिर्ता भएपछि उनका लागि भन्दै ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरिएको थियो।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा आउने बहस चर्कँदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने तथा पार्टी अध्यक्षको सीमा तोक्नुपर्ने (अध्यक्षमा दुई कार्याकाल) जस्ता विषयमा छलफल सुरु हुन थालेका छन्। भण्डारीलाई पार्टी अध्यक्ष बनाउने हो भने ओलीको कार्यकाल १० औ महाधिवेशनबाटै सकिनेछ। ७० वर्ष पूरा भैसकेको तथा दुई कार्यकाल अध्यक्ष पनि पूरा भैसकका कारण ११ औ महाधिवेशनबाट सहजै बिदा हुने अवस्था हुनेछ।
अध्यक्ष ओलीले ७० वर्षे उमेरहद ‘फेल’ खाएको भनेर यही जेठ २५ गते सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको विषयको बहसले झन प्रमुखता पाएको छ। २०७८ असोजमा सम्पन्न पहिलो एमाले विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो।
त्यस बेला एमालेले आफ्नो विधानमा ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो। तर, विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले हाललाई भन्ने शब्द राखेर निलम्बन गरेको थियो।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले ७० वर्षे उमेरहद फेल खाएको र आवश्यकताका आधारमा नेतृत्व चयन हुने बताएपछि ईश्वर पोखरेल लगायतका केही नेताहरू औपचारिक फोरममै ७० वर्षे उमेरहद र २ पटक कार्यकालको व्यवस्था कायमै रहेकाले आगामी दिनमा पनि सोही व्यवस्थालाई निरन्तरता दिनुपर्ने मत सार्वजनिक गरेका छन्।
प्रकाशित: ५ असार २०८२ १२:४० बिहीबार