३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपालमा अत्यधिक भ्रष्टाचार छ, यसैले युवामा आक्रोश: पूर्वभारतीय राजदूत रे

पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालमा अत्यधिक भ्रष्टाचारका कारण युवाहरू निराश र आक्रोशित भएको बताएका छन्।

भारतीय च्यानलसँगको एक अन्तर्वार्तामा पूर्वराजदूत रेले यस्तो बताएका हुन्। उनले नेपालमा बढ्दो भ्रष्टाचारले युवामाझ आक्रोश बढाएको टिप्पणी गरे।

‘नेपालमा अत्यधिक भ्रष्टाचार हुने गरेको छ,’ रेले भने, ‘जसका कारण युवाहरूमा निराशा र आक्रोश पैदा भएको छ।’ यही निराशालाई फाइदा लिन राजावादी दल सलबलाएको समेत उनले सुनाए। ‘राजावादी दलका मानिसहरू ‘बरु हाम्रो पालामा यो हदको भ्रष्टाचार हुँदैनथ्यो’ भनेर युवापीढीलाई आकर्षित गर्दै छन्,’ उनले भने, ‘नयाँको खोजीमा रहेका जनता अहिले जता पनि ढल्किन सक्छन्।’  

नेपालमा रोजगारी र विकास नहुँदा एक तिहाइ जनता पलायन भएको उनले सुनाए। ‘सम्भवत: एक करोड जनता कामको लागि बाहिरिएका छन्,’ उनले भने, ‘यहाँ रहेकामा पनि निराशा छ।’  

नेपालमा कसैको पनि बहुमतको सरकार नबन्ने गरेका कारण जस्तोसुकै दलसँग पनि सम्झौता गर्नु पर्ने अवस्था रहेको उनले बताए। ‘दुई सांसद भएको पार्टीलाई पनि उपप्रधानमन्त्री दिएर सरकारमा ल्याइने गरेको देखिएको छ,’ उनले भने, ‘यस्तोमा चाहेर पनि सरकारले धेरै कुरा नियन्त्रणमा राख्न सक्दैन।’  

नेपालमा सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा समीकरण बन्ने गरेको पूर्वराजदूत रेले बताए। ‘अहिले नेपालमा भएको समीकरण आफैँमा अचम्म छ,’ उनले भने, ‘तपाईँ सोच्न सक्नु हुन्छ? भाजपा र भारतीय कांग्रेस मिलेर सरकार चलाएको।’

प्रकाशित: ५ असार २०८२ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App