गत जेठ २२ गते जनकपुरधाम झरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्वाक्क बोले— ‘कहाँ छन् राजावादी ? तुहिसक्यो!’ जसै, यहाँसम्म आइपुग्दा राजावादी आन्दोलन देउवाले प्रयोग गरेको शब्दकै अवस्थामा देखिन्छ। जेठ १५ बाट अनिश्चितकालीन भनिएको आन्दोलन अहिले प्रभावहीन बनेको छ।
४५ वटा राजावादी दल तथा सङ्घ-सङ्गठनको सहभागितामा आन्दोलन हाँक्न बनाइएको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रमुख घटक दलका नेताहरू राजेन्द्र लिङ्देन, कमल थापा, केशर बहादुर विष्टलगायत नै सन्तुष्ट छैनन्। फलत: यसको प्रभाव आन्दोलनमा पर्ने नै भयो। आन्दोलन अहिले ‘तुहिएकै’ अवस्थामा छ।
सुरुदेखि नै निष्प्रभावी !
२०८१ फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किए। पूर्वराजा शाहलाई अभिनन्दन गर्नका लागि राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपाल, नागरिक बचाऊ महाअभियानलगायतका दल तथा सङ्घ-सङ्गठनका नेता/कार्यकर्ता विमानस्थलमा ओइरिए, नभन्दै त्यो भीडले गणतन्त्रवादीका मुटुमा ढ्याङ्ग्रो बजायो। त्यसबाट हौसिएका राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि शृङ्खलाबद्ध तथा अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरे तर, आन्दोलन चर्काउन सकेनन्।
चैत ४ गते ८७ वर्षीय महेन्द्रकालीन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन भयो। तर, समितिका प्रमुख घटक दलका नेताहरूले त्यसलाई अस्वीकार गरे। राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्टलगायतका नेताहरूले आफू समितिमा नरहेको घोषणा गरेका थिए।

त्यसबीचमा आन्दोलनका केही कार्यक्रमहरू घोषणा भए। साना-तिना कार्यक्रमहरू पनि भए। त्यसबीचमा यी तीन नेतालाई सङ्कट आइलाग्यो कि समितिले जनआन्दोलनको उद्देश्यमा जे भन्यो, आफूहरूको पार्टीको उद्देश्य पनि त्यही भएपछि उनीहरूले समिति अस्वीकार गर्न गाह्रो भयो। यसपछि उनीहरू सुवेदी नेतृत्वकै समितिमा गोलबद्ध त भए तर, आवश्यकताअनुसार सक्रिय हुन सकेनन्। जति सक्रिय भए, त्यो पनि चित्त नबुझ्दै-नबुझ्दै!
समितिले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन गर्यो तर, उपलब्धि शून्य! आन्दोलनले राजावादीको पक्षमा थोरै मात्रै माहोल बनाउनसमेत सकेन। बरु उल्टै राजावादी नेताहरू दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतविरुद्ध मुद्दा लाग्यो। जुन उद्देश्यका साथ आन्दोलन भएको थियो, त्यो उद्देश्य भेटिएन। यसबीचमा समितिले मुद्दा लागेका आफ्ना नेताहरूलाई रिहाइ गरिनुपर्ने मागमै समय बितायो।
२०८२ जेठ १५ गतेदेखि भने अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा संयोजक सुवेदीले गरे तर, आन्दोलन तीन दिन नबित्दै खिइन थाल्यो। समितिले जे सोचेको थियो, त्यो हुँदै भएन। सुरुको दिन जुन तहमा जनसहभागिता थियो, तेस्रो दिनमा पुग्दा त्यो झन्डै एकतिहाइमा झर्यो। यसपछि समिति आन्दोलन स्थगित गर्न बाध्य भयो।
अनिश्चितकालीन आन्दोलन रोकेर बसेको समितिले त्यसको एक हप्तापछि जेठ २१ गते ‘बृहत् समीक्षा’ नाम दिएर एउटा रणनीतिक बैठक राख्यो। तर, समितिका प्रमुख घटक दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै अनुपस्थित भए। उनी उपस्थित नहुनुको कारण कार्यव्यस्तता भनिएको थियो। तर, त्यो दिन उनी संसद्तिर थिए। जबकि, भिजिट भिसा प्रकरणका कारण संसद् बैठक बस्न सकिरहेको थिएन, त्यो दिन पनि बैठक नबस्ने निश्चित थियो, त्यसमा लिङ्देन जानकार नै थिए। तर, बैठक हापे। अर्थात्, लिङ्देन जानी-जानी बैठकमा अनुपस्थित भए।
लिङ्देन नै अनुपस्थित भएपछि बैठकस्थल धुम्बाराहीमा होहल्ला मात्रै भएन, बैठकमा सहभागी नेता/कार्यकर्ताहरूले सोधे— त्यही संसद् चाहिने भए यो आन्दोलनको अर्थ के ? खासमा त्यो बैठकबाटै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने भनिएको थियो। तर, लिङ्देन नै अनुपस्थित भएपछि संयोजक सुवेदीले आन्दोलनका कार्यक्रम घोषणा नै नगरी बैठक विसर्जन गरिदिए। बैठक तितरबितर भयो, आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने कार्यसूची थाँती नै रह्यो। यसपछि घर फर्किएका सुवेदीले विज्ञप्तिमार्फत नयाँ कार्यक्रम घोषणा गरे तर, अमूर्त! त्यहाँ न मिति छ, न राजसंस्था पुनर्स्थापनाका लागि स्पष्ट मार्गचित्र। विज्ञप्तिमार्फत आन्दोलन कार्यक्रम घोषणा गरेर सुवेदीले ‘फेस सेभिङ’ मात्रै गर्न खोजेको प्रतीत हुन्छ।

आन्दोलनमा लाग्यो बर्खा
असन्तुष्ट रहे पनि समितिका प्रमुख घटक दलहरू आन्दोलन तुहिएको ठान्दैनन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठको भनाइमा यो आन्दोलन पुन: उठ्नेछ तर, त्यसका लागि राम्रो समन्वय हुनुपर्छ, अहिले बर्खा लागेकोले सुस्ताएको हो।
‘बर्खा लागिसक्यो। यो बेलामा सबै खेतिपातीमा लाग्छन्। किसान दाजुभाइहरू खेतमा व्यस्त हुन्छन्। यस्तो बेलामा एउटा राजनीतिक पार्टीले खेतिपाती सिजनलाई ध्यानमा राखेर आन्दोलन अगाडि नबढाउन उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेर रोकिएका हौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर, उपयुक्त समयमा आन्दोलन फेरि उठ्छ।’
यसबीचमा आफूहरूले आन्तरिक तयारी गर्ने उनको भनाइ छ। आन्दोलन भन्नेबित्तिकै सडक सङ्घर्ष मात्रै नहुने औँल्याउँदै प्रवक्ता श्रेष्ठ थप्छन्, ‘आन्तरिक रूपमा हामीले सङ्गठन सुदृढीकरणको काम गर्नेछौँ योबीचमा। आन्दोलनका विभिन्न स्वरूपहरू हुन्छन् सडक आन्दोलन बाहेक पनि। त्यसमा हामी केन्द्रित हुन्छौँ। जनतासँग समन्वय गर्ने कुरा हामी गरिरहन्छौँ,’ उनले भने।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाको भनाइ पनि प्रवक्ता श्रेष्ठको भन्दा खास फरक छैन। उनको दाबी छ कि बाहिर नदेखिए पनि भित्र आन्दोलनको राम्रो तयारी भइरहेको छ। ‘बाहिर दृश्यमा नदेखिएको हो तर, भित्र तयारी, समीक्षा र आन्दोलनका स्वरूप परिवर्तनका बारेमा छलफल जारी छ। केही दिनभित्रै समितिको बैठक बस्छ र आन्दोलनका थप कार्यक्रमहरू घोषणा हुन्छ। अहिले के, कसरी आन्दोलनका स्वरूप परिवर्तन र निर्धारण गर्ने भन्नेबारे छलफल गर्दैछौँ,’ महामन्त्री बर्तौलाले भने।
उनले अहिलेका लागि बर्खालाई सुहाउँदो आन्दोलन गर्ने बताए। ‘अहिलेका लागि बर्खालाई सुहाउने खाले आन्दोलन हुन्छ। तर, हुन्छ। भित्रभित्रै हामीले तयारीका कार्यक्रमहरू त गरिरहेकै छौँ नि। मैले भनिहालेँ, स्वरूप परिवर्तन गर्छौँ र आन्दोलनमा होमिन्छौँ,’ महामन्त्री बर्तौलाले भनेका छन्।
समितिका प्रवक्ता स्वागत नेपाल पनि आन्दोलन अब झन् दह्रो भएर आउने दाबी गर्छन्। अहिले आन्तरिक तयारीमा आफूहरू रहेको उनले बताएका छन्। अन्डाको उदाहरण दिँदै उनले भने, ‘एउटा अन्डालाई आफ्नो तापक्रममा कन्सिस्टेन्सी मेन्टेन गरेर छोपिरहनुभयो भने मात्रै चल्ला निस्किन्छ। उगार्दै हेर्दै, उगार्दै हेर्दै गर्नुभयो भने त्यो कुहिन्छ। यसबाट एउटा चल्ला निस्किन लागेको छ, हामी पूर्ण रूपमा तयारीमा छौँ। र, यसलाई अहिले हामीले खोलेर फेरि हेर्यौँ भने चल्ला निस्किँदैन। खोलेर हेर्ने हतारभन्दा चल्ला निस्किन दिनुपर्छ। आन्दोलन अझ बेगका साथ आउँछ,’उनले भने।
बाहिरबाट आन्दोलन तुहिएजस्तो देखिए पनि यथार्थमा त्यो झन् बेगका साथ आउनका लागि तयारीमा रहेको प्रवक्ता नेपालको भनाइ छ। ब्याडको उदाहरण दिँदै उनी भन्छन्, ‘ मान्छेले तुहियो भन्छन् नि, अहिले बर्खाको बेला छ, किसान दाजुभाइ-दिदीबहिनीहरूले बुझ्नुहुन्छ। ब्याड कस्तो मज्जाले लहलाउँदो बनेर आएको हुन्छ, तर, त्यसलाई त्यहीँ छाडेको छाड्यै गर्नुभयो भने पहेँलिएर मर्छ। धान फलाउँदैन त्यसले, उखेल्नुपर्छ र जरामा भएको माटो पनि झार्नुपर्छ र त्यो मरणासन्न अवस्थामा पुग्छ र मर्यो, तुहियो भन्ने लाग्छ। तर, जब तपाईंले हिल्याएको ठाउँमा रोप्नुहुन्छ नि, केही दिन पहेँलो-पहेँलो पनि तर, त्यसपछि यत्रो गाँज हालेर आउँछ। अहिले आन्दोलन बर्खाको समयमा मराणासम्म अवस्थामा पुगेको छ, यसको माटो पनि झार्ने हो, खराबहरू झारिदिने हो, जसले समीक्षा बैठक पनि मिडिया राखेर गरे। तर, आएपछि अकल्पनीय भएर आउँछ।’

किन उठेन आन्दोलन ?
त्यसो त माथि नै उल्लेख गरियो कि आन्दोलन नउठ्नुको एउटा प्रमुख कारण हो- घटक दलहरूबीचको अमिल्ती। प्रमुख घटक दलहरू राप्रपा र राप्रपा नेपाल सुरुदेखि नै सन्तुष्ट छैनन्। आफूहरू प्रमुख राजावादी दल हुँदाहुँदै ८७ वर्षीय महेन्द्रकालीन नेता सुवेदी अगाडि बढ्दा उनीहरूलाई आफ्नो उपादेयतामाथि सङ्कट परेको छ।
तर, पछि उनीहरू सुवेदीकै नेतृत्व स्वीकार्न बाध्य भए। त्यो त एउटा सन्दर्भ छँदै थियो। तर, त्यसपछि पनि सुवेदीको कार्यशैलीमाथि उनीहरू सन्तुष्ट छैनन्। सुवेदीले समन्वय नगरीकन आन्दोलनका कार्यक्रम घोषणा गर्ने, बैठक बोलाउने, विज्ञप्ति निकाल्ने काम गरेपछि राप्रपा र राप्रपा नेपाल रुष्ट छन्।
राप्रपाका एक नेता भन्छन्, ‘उहाँहरूले हामीसँग समन्वय गर्न छाड्नुभएको छ। यो आन्दोलनका लागि राप्रपा अग्रमोर्चामा खटिन सक्छ तर, यही पात्र, प्रवृत्ति र कार्यशैलीबाट भने सम्भव हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।’
राप्रपा नेपालका एक नेताको भनाइ पनि त्यस्तै छ। समितिमा समन्वयको अभाव भएको सुनाउँदै उनले भने, ‘हुन त व्यक्तिपिच्छेका फरक व्यवहार, कार्यशैली र तौरतरिका हुन्छन्। तर, आन्दोलनजस्तो कुरामा त्यसलाई कार्यशैलीगत त्रुटि मान्न सकिँदैन। समन्वयका हिसाबले एकदम कमी भयो। तर, भित्री भावना र उद्देश्यचाहिँ आन्दोलन गर्नै नै हो भन्ने छ।’

आन्दोलन नउठ्नुको अर्को कारण युवा नेताको साटो ८७ वर्षीय महेन्द्रकालीन नेतालाई नेतृत्वका रूपमा अगाडि बढाउनु पनि हो। उसो त सुवेदीलाई आन्दोलन सक्रिय हुने उमेर समूहका युवाहरूले चिन्दैनन् पनि। यसर्थ, राजावादी आन्दोलनमा आन्दोलनलाई नेतृत्वदायी भूमिका निभाउने नेताकै अभाव देख्छन् राजनीतिक विश्लेषक डा. लोकराज खनाल। आन्दोलन अब थप नउठ्ने विश्लेषण खनालको छ।
‘नेतृत्व, न सङ्गठन, न राष्ट्रिय-अन्तर्राष्ट्रिय आधार। अनि किन उठ्छ राजावादी आन्दोलन। मैले सुरुमै भनेको थिएँ, यो उठ्ने खालको आन्दोलन नै होइन भनेर। अब उठ्दा पनि उठ्दैन। आन्दोलन गर्ने ठूलो दल राप्रपा होला। राप्रपाले एमालेको समर्थनमा हो चुनाव जित्ने। आफूले एक/दुई सिट जित्नै गाह्रो छ। अनि सङ्गठन नै छैन उसँग,’ उनले भने।
अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ। अब आन्दोलन कस्तो होला, देखिएला नै तर, सुरुमा जे भनियो र आन्दोलनमा जे देखियो, त्यसबीचको दूरी नाप्ने हो भने आकाश-पातालको छ। अर्थात्, अब पुन: राजावादी आन्दोलन राजा फर्काउने तहमा उठ्छ भनेर विश्वास गर्न कमै मात्रै सकिएला!
प्रकाशित: ४ असार २०८२ २१:०८ बुधबार