३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले जनसंगठन बैठकमा ओलीको सम्बोधन, महाधिवेशनपछि आएको नेतृत्वलाई निर्देशन दिने

फाइल तस्बिर

नेकपा एमाले जनसङ्गठन सङ्यन्त्रको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्दै छन्। 

आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन्। 

पार्टी स्थायी कमिटीका सदस्य एवम् जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने छन्। नयाँ नेतृत्वलाई सङ्गठन विस्तार, पार्टी र सरकारले गरेका राम्रा कामहरू जनतासमक्ष पुर्‍याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यान्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्ने ढकालले जानकारी दिए।  

यसैगरी पार्टी उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसङ्गठनबीचको समन्वयमा देखिएका अफ्ठ्याराहरूलाई सहजीकरण गरेर सङ्गठनको भूमिकालाई कसरी प्रभावकारी रूपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्ने छन्। नयाँ नेतृत्वलाई पार्टीको जनसङ्गठन संयन्त्रका नीति, विधि र भूमिकाका बारेमा जनसङ्गठन समन्वयका प्रमुख भानुभक्त ढकालले प्रष्ट पार्ने छन्। 

बैठकमा हरेक जनसङ्गठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिर्पोटिङ गर्ने छन्। आजको बैठकबाट निवर्तमान अध्यक्षहरूलाई बिदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिए। एमालेका २३ जनसङ्गठनमध्ये समयावधि पुगेका १६ वटा जनसङ्गठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरू सुरु हुने चरणमा छन्।

प्रकाशित: ४ असार २०८२ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App