१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपालाई एक्लै छाडेर हिँडे दाहाल !

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छाडेर हिँडेको छ। माओवादी केन्द्रले संसद् खुलाउनेबारे सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दैछ।

यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अब रास्वपा आफ्नै ढङ्गले जान्छ’ भनेर प्रतिक्रिया दिएका छन्। ‘रास्वपासँग मूलभूत रूपमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नै ढङ्गले जानुहुन्छ। तर, हाम्रो बीचमा विमति र आरोप-प्रत्यारोप केही छैन,’ उनले भनेका छन्।

यसपछि रास्वपाले दाहालका प्रति रोष पोखेको छ। रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले दाहाललाई ‘भ्रष्टसँग मिलेको’ आरोप लगाएकी छन्। ‘माओवादीले केही समय रास्वपा सभापतिको पक्षमा बोल्दै गर्दा प्रचण्डलाई जनताले निकै विस्वास गर्दै थिए। तर, आज आएर तिनै भ्रष्टसँग मिलेर रास्वपालाई एक्लो बनाएको छ माओवादीले,’ उनले फेसबूकमा लेखेकी छन्।

उनी थप्छिन्, ‘ठिक छ, रास्वपा एक्लै लड्छ, एक्लै काफी छ। जनताको नजरबाट सबै पुराना दलहरू यसरी नै गिर्दै गएपछि बल्ल रास्वपाले देखेको यो देशको सपना पूरा हुनेछ। हामी मान्छे बेच्नेहरूसँग आज एक्लै लड्दैछौँ साथीहरू। भ्रष्ट नेताहरूले साथ छोडेर केही हुन्न, जनताको साथ छ रास्वपालाई। जनताको शक्तिभभन्दा ठूलो तिम्रो कुर्सी होइन।’

त्यसो त सुरुमा संसद्को जारी समस्याका बारेमा दाहाल आफैँले रास्वपासहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूलाई बोलाएर छलफल गरेका थिए। त्यसयता यी दलहरू संसद्‌मा सँगै उभिन्थे। तर, आजबाट भने माओवादी केन्द्र सदन खुलाउने पक्षमा गएको छ। यससँगै रास्वपा नेताहरू रिसाएका हुन्।

प्रकाशित: ३० जेष्ठ २०८२ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App