७ असार २०८२ शनिबार
image/svg+xml
राजनीति

कमल थापाको सम्झनामा दुर्गा प्रसाईं !

कम्युनिष्ट हुँदै राजावादी कित्तामा उभिन पुगेका व्यवसायी दुर्गा प्रसाईं थुनामा छन्। २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शन र त्यसबाट सृजित घटनाका दोषी भनिएका उनी साढे दुई महिनायता थुनामै छन्। 

पछिल्लोपटक राजावादी दल राप्रपा र राप्रपा नेपालका नेताभन्दा पनि पूर्वराजाका प्यारा भएका प्रसाईंको नागरिक बचाऊ अभियान मौनप्राय: छ। राजावादी आन्दोलनहरूमा भाग लिएको पनि देखिँदैन।

२०८१ फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दनको कार्यक्रम आयोजना गरेका प्रसाईंले पूर्वराजाको साथ पाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि कटाक्षसमेत गरे। त्यसबेला उनले भनेका थिए, 'जस लिन अगाडि सरे।'

त्यसबेला अवस्था पनि त्यस्तै देखिन्थ्यो। राजावादी दल राप्रपा र राप्रपा नेपालका भन्दा दलबल प्रसाईंकै बढीजस्तो देखिन्थ्यो। यसपछि पूर्वराजा ज्ञानेन्द्रले उनै प्रसाईंलाई आन्दोलनको जनकमान्डर बनाइदिए। जनकमान्डर बनाइएकै दिन प्रसाईंले 'मान्छेमाथि गाडी हाँक्ने कु-प्रयास' गरे। फलत: उनी थुनामा जानुपर्‍यो।

उनी थुनामा गएको झन्डै साढे दुई महिना भइसकेको छ। यसबीचमा राप्रपा, राप्रपा नेपालसहित राजा तथा हिन्दूवादी ४४ वटा सङ्घ संस्थाहरूको सहभागितामा गठित राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले धेरै कार्यक्रमहरू गर्‍यो। 

८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा गठित उक्त समितिले २०८३ जेठ १५ गतेदेखि त अनिश्चितकालीन आन्दोलन नै गर्ने भनेको थियो। सुरु पनि गरेको थियो तर, आन्दोलन भनेजस्तो हुन सकेन। समितिका घटक दल तथा संस्थाहरूका बीचमा नै मिल्ती नभएपछि अहिले आन्दोलनले विश्राम लिएको छ।

जेठ २२ गते राप्रपाको कार्यालय धुम्बाराहीमा आयोजित समितिको समीक्षा बैठक पनि राम्रो भएन। समितिको पहिलो ठूलो घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नै सहभागी नभएपछि त्यहाँ नाराबाजी मात्रै भएन, कार्यकर्ताहरूले 'यही संसद् चाहिने भए आन्दोलन केका लागि ?' भनेर प्रश्नसमेत सोधे। समीक्षा बैठकलाई माया मारेका लिङ्देन त्यसबेला संसद् बैठकको निहुँमा नयाँबानेश्वरतिर थिए।

संयोजक सुवेदीले आन्दोलनका नयाँ कार्यक्रमहरू घोषणा त गरेका छन् तर, प्रभावकारी हुने छाँटकाँट देखिँदैन। त्यसो त यसअघि अनिश्चितकालीन भनिएको आन्दोलन पनि केही दिनमै स्थगित हुन पुग्यो। 

सुरु गरेको दिन जेठ १५ गते केही हजारमा देखिएको उपस्थिति दोस्रो, तेस्रो हुँदै अघि बढ्दा घट्दै गयो। यसपछि आन्दोलन स्थगित भयो। ठीक यही बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने उनै दुर्गा प्रसाईंलाई सम्झिन पुगेका छन्।

यसबीचमा चुपचाप बसेका थापाले सोमबार साँझ फेसबूकमा प्रसाईंलाई सम्झिँदै लेखेका छन्, 'चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको छ। दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्। विगतमा केपी ओली र प्रचण्डसँग नजिक रहेका दुर्गा प्रसाईंले पछिल्लो २ वर्षमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना एवम् भुइँमान्छेका समस्याहरू उजागर गर्ने तथा आम जनताको माझमा पुर्‍याउने काममा महत्त्वपूर्ण योगदान दिएका छन्।'

यसपछि कतिपयले थापाले आन्दोलन सफल नभएपछि प्रसाईंलाई सम्झिएको टिप्पणीसमेत गरेका छन्। राजावादी आन्दोलनहरूमा जे-जसो गरेर भए पनि भीड जम्मा गर्न माहिर प्रसाईं नहुँदा राजावादी आन्दोलनको आकार घटेको कुरा सम्भवत: तथ्य नै हुँदो हो।

यो पनि पढ्नुहोस्

कमल थापाको माग: दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्

प्रकाशित: २७ जेष्ठ २०८२ २१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App