अबको १६ महिनाभित्र नेकपा (एमाले)को ११औं महाधिवेशन भइसक्नुपर्छ। १०औं महाधिवेशन २०७८ मंसिरमा सौराहामा सम्पन्न गरेको एमालेले विधानत: अबको १६ महिनाभित्र ११औं महाधिवेशन गरिसक्नुपर्छ।
१०औं महाधिवेशनमा दोस्रोपटक अध्यक्ष दोहोरिएका केपी शर्मा ओली ११औं महाधिवेशनमा पनि पुन: अध्यक्ष हत्याउने ध्याउन्नमा छन्। १०औं महाधिवेशनबाट झन् आफूअनुकूल पार्टी निर्माण गरेका ओलीको पार्टीभित्रको स्वीकार्यता यहाँसम्म आइपुग्दा भने क्रमश: घटिरहेको छ।
ओलीले पार्टी विधान र निर्णयहरूलाई आफूअनुकूल प्रयोग गर्दै आएका छन्। १०औं महाधिवेशनभन्दा अगाडि भएको पहिलो विधान महाधिवेशनले पार्टीमा ७० वर्षे उमेरहदमा संशोधन गरेको थियो। २०७१ सालमा काठमाडौंमा भएको ९औं महाधिवेशनले लागू गरेको उक्त व्यवस्थामा ७० वर्ष पुग्नुपूर्व निर्वाचित अध्यक्षको हकमा त्यो लागू नहुने व्यवस्था गरेको थियो। त्यो पनि ओलीको सहजताका निम्ति गरिएको थियो। विधान महाधिवेशन २०७८ वैशाखमा भएको थियो भने १०औं महाधिवेशन सौराहामा मंसिरमा भएको थियो। ओली फागुनमा ७० टेक्दै थिए।
अहिले ओली ७४ मा हिँड्दैछन् तर, पद छाड्ने पक्षमा भने देखिँदैनन्। उनले आफूलाई बूढो देख्न मन भए अझै २०/२५ वर्ष कुर्नुपर्ने, अझै २० वर्षसम्म नेतृत्वमा अरुले आस नगर्दा हुनेलगायतका दर्जनौं अभिव्यक्ति दिँदै आएका छन् भने ७० वर्षे उमेरहद पनि हटाइसकेका छन्। २०८० जेठमै उनले विधानको त्यो व्यवस्था निलम्बन गराइसकेका छन्। नेकपा (एकीकृत समाजवादी) तिर लागेका पाका नेताहरूलाई पुन: पार्टीमा फर्काउने नाममा निलम्बन गरिएको उक्त व्यवस्थाकै आडमा ओली पुन: अध्यक्ष तेहरिन चाहन्छन्।
तर, महाधिवेशन नजिकिएसँगै त्यसमा ओलीका चुनौतीहरू थपिँदै गएका छन्। त्यसमा मुख्यत: दुईवटा ठूला चुनौती छन्, त्यसलाई ओलीले पनि गम्भीरताका साथ लिएका देखिन्छन्।

पहिलो, धेरै नेताहरू ७० वर्षे उमेरहदको पक्षमा। अहिले एमालेका पदाधिकारी तहका धेरै नेताहरू ७० वर्षे उमेरहदकै पक्षमा खुल्दै गएका छन्। जसमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त खुलिसकेका छन्। उनले प्रष्ट रूपमा आफू ७० वर्षे उमेरहदको पक्षमा रहेको बताएका छन्।
‘७० वर्षे उमेरहद र दुई कार्यकालपछि डिस्कन्टिनिउ हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो। त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु। त्यो फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो। आउने महाधिवेशनले यसलाई अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले राजेन्द्र बानियाँसँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका छन्।
त्यसो त वरिष्ठ उपाध्यक्ष पोखरेल जहाँ उभिन्छन्, त्यतै पार्टी संस्थापन भएको ‘टेन्डेन्सी’ एमालेमा छ। त्यसैले पनि उनको यो अडानलाई ओलीले साधारण रूपमा लिएका छैनन्। उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेलदेखि प्राय: पदाधिकारी उमेरहदकै पक्षमा रहेको बताइन्छ।
एक पदाधिकारीको आकलनमा धेरै सचिवालय सदस्यहरू उमेरहदकै पक्षमा उभिन सक्छन्। आफूले बहुमतको कदर गर्ने भन्दै ती पदाधिकारी भन्छन्, ‘बढीजसो उमेरहदकै पक्षमा उभिनुहोला जस्तो लाग्छ।’
ओलीले स्वास्थ्यले दिन्छ र कार्यक्षमता रहन्छ भने ७० वर्षपछि पनि काम गर्न पाउनुपर्ने वकालत गर्दै आएका छन्। पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनलाई उद्घाटन गर्ने क्रममा उनले भनेका छन्, ‘उमेरका कुरा आयो। ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो। अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर। स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो। चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीले ६५ लगाएको हो, अहिले ७२ पुगिसक्नुभयो, सी चीनफिङ।’
दोस्रो, उनको चुनौती हो पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता। एमाले उपाध्यक्ष हुँदै दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीको सक्रियता क्रमश: बढ्दैछ। २०७९ फागुनमा शीतल निवास छाडेकी भण्डारीले २०८० वैशाखमै आफ्ना प्रतिनिधिमार्फत पार्टीको सदस्यता नवीकरण गराइसकेको बताइन्छ।
त्यसयता मदन भण्डारी फाउन्डेसनद्वारा राजनीतिक सक्रियता बढाएकी भण्डारीले उत्तरी छिमेकी देश चीनको भ्रमणसमेत गरिन्। ‘उच्च’ सम्मान दिएको चीनले भण्डारीलाई ‘विशिष्ठ राजनीतिज्ञ’ मानेको उनीसँगै भ्रमणमा गएका एमाले नेता कर्ण थापाले बताएका छन्। नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्ताका रूपमा चीनबाट सद्भाव लिएर फर्किएको चर्चा सेलाएको छैन, यता भण्डारीको सक्रियता झन् तीव्र बनेको छ।
चीनबाट फर्किएपछि भण्डारी ओलीको गृहजिल्ला झापा पनि पुगिन्। झापाभन्दा अगाडि विराटनगर पुगेकी उनले त्यहीँ एमाले अध्यक्ष बन्ने प्रश्नलाई सामान्यीकरण गरेकी थिइन्। पार्टी अध्यक्षबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले ‘समय आउँछ’ भनेकी थिइन्।

ओलीले भने भण्डारीको सक्रियतालाई ‘दुष्प्रयास’ को संज्ञा दिएका छन्। सँगै उनले त्यस्ता दुष्प्रयासहरूलाई इन्कार गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन। अनि बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरू सोझै इन्कार गर्नुस्।’
जवाफमा भण्डारीले भने सौहार्यता देखाएकी छन्। ‘ओलीजीले त्यस्तो भन्नुभएको होइन होला,’ उनले यति भनेकी छन्।
'व्यक्ति व्यवस्थापन नै मुख्य चुनौती हो'
राजनीतिक विश्लेषक चन्द्रदेव भट्टका अनुसार एमालेभित्रको अबको मुख्य चुनौती व्यक्ति-व्यवस्थापन हो। ओलीलाई पनि यहीँ समस्या पर्ने विश्लेषण भट्टको छ। पार्टीका प्राय: नेता समकालीन रहेकाले पनि व्यक्ति-व्यवस्थापनको विषय मुख्य हुने उनी बताउँछन्। 'एमाले अब व्यक्ति-व्यवस्थापनको विषय प्रमुख हुँदै जान्छ,' भट्ट भन्छन्, 'किनभने सबै नेताहरू समकालीन छन्। त्यसलाई म्यानेज गर्नका लागि प्रमुख चुनौती देखिन्छ।'
७० वर्षे उमेरहद त्यसका लागि एक सही विकल्प हुनसक्ने भनाइ भट्टको छ। 'अहिले केपी ओलीले पनि विभिन्न किसिमबाट राजनीति गरिरहेको देखिन्छ। विद्या भण्डारीको पनि आफ्नै सक्रियता छ, केपी ओलीजीको गृहजिल्लासमेत पुग्नुभयो उहाँ। अरु नेताहरूको भर्सन पनि आउँदैछ। अब आउँदो महाधिवेशनमा कस्तो हुन्छ हेरौँला तर, ७० वर्षे उमेरहद एउटा विकल्प हुनसक्छ। अन्तिममा सहमति पनि हुनसक्छ,' उनले भने, 'केपी ओलीले पनि आफूनिकटका नेतालाई अघि बढाउने हो अब।'
सँगै 'जबज' र 'सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउन सक्ने व्यक्ति' गरी दुईवटा फ्याक्टर्स पनि त्यहाँ जोडिएको विश्लेषण भट्टको छ। यी दुबै फ्याक्टर्सले भण्डारीको आवश्यकता देख्ने पनि उनले बताए। तर, अहिल्यै यही हुन्छ भन्न सकिने अवस्था नभएको भट्टको भनाइ छ।
प्रकाशित: २७ जेष्ठ २०८२ १८:५३ मंगलबार