नेपाल र भारतका विमानस्थल प्रयोग गरेर भारतीय वा नेपाली नागरिक तेस्रो मुलुक जानु सामान्य भए पनि त्यसमा केही निश्चित मापदण्डहरू पूरा नगरी जानु वा पठाउनु असामान्य मानिन्छ। नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गरेर बाहिर जाने गरेका छन्। साथै नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विगत लामो समयदेखि भारतीय नागरिकहरू ‘नो अब्जेक्सन लेटर’(एनओसी) तेस्रो मुलुक जाने गरेका छन्।
रामबहादुर थापा गृहमन्त्री हुँदादेखि रमेश लेखकको पालासम्म आइपुग्दा ७५ हजार ८ सय ७६ जना भारतीय नागरिकहरू तेस्रो मुलुक गएको पाइएको छ। अध्यागमन कार्यालयको तथ्यांकअनुसार पाँच गृहमन्त्रीको कार्यकालमा गृहमन्त्रीको कार्यकालबाट समेत भारतीय नागरिक तेस्रो मुलुकको यात्रामा त्रिभुवन विमानस्थलबाट पलायन हुने गरेको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ ।
प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुई पटक छोटो अवधिका लागि गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ८ हजार २७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएका थिए । अन्य गृहमन्त्रीको तुलनामा उनी थोरै समय गृहमन्त्री भएका थिए।
अध्यागमन विभाग स्रोतका अनुसार कुनै पनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जाँदा भारतीय दूतावासबाट जारी हुने एनओसी देखाउनुपर्नेमा त्यसो नगरी जाने गरेको खुलेको छ।
दोस्रो पटक रवि गृहमन्त्री भएका बेला चार महिनाको अवधिमा ७ हजार ४० जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ। रविको दोस्रो कार्यकालमा दैनिक औसतमा ५८ जना भारतीय नागरिक विमानस्थलबाट तेस्रो मुलुक जाने गरेको अध्यागमन स्रोतले जनाएको छ।
त्यसअघि एक महिनाको लागि उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा रहेका रविको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिकलाई विमानस्थलबाट तेस्रो मुलुक पठाइएको देखिन्छ। रविको पहिलो कार्यकालको एक महिना २ दिनको अवधिमा १२ सय ३९ जना भारतीयहरू तेस्रो मुलुक गएको देखिन्छ। स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरू एनओसीबिना नै तेस्रो मुलुक गएका थिए ।
तेस्रो मुलुकमा जाने भारतीयहरू कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्कले देखाएको छ।
अध्यागमन विभाग स्रोतका अनुसार कुनै पनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जाँदा भारतीय दूतावासबाट जारी हुने एनओसी देखाउनुपर्नेमा त्यसो नगरी जाने गरेको खुलेको छ।
तर भारतीय दूतावास श्रोतले दिएको जानकारी अनुसार दूतावासमा एनओसी लिन आउने सबैलाई एनओसी दिने गरेको छ। ‘हामीले दूतावासमा एनओसी माग्न आउने सबैलाई दिने गरेका छौँ। आधिकांश एनओसी लिएर नै नेपालबाहिर जाने गरेका छन्’ भारतीय दूतावास स्रोतले भन्यो।
त्यसै गरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्रीको जिम्मेवारीमा रहँदा भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौँको संख्यामा तेस्रो मुलुक गएको तथ्य बाहिरिएको छ।
श्रेष्ठ गृहमन्त्री हुँदा १ वर्ष ३ दिनको अवधिमा १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेको देखिन्छ । तत्कालीन गृहमन्त्री श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय बिदेसिएको थिए । श्रेष्ठको पालामा भारतीय नागरिकहरू चीन, थाइल्यान्ड, मलेसिया, दुबई र श्रीलंका लगायतका मुलुकमा बढी गएको देखिन्छ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्दा बढी समय गृह नेतृत्वको जिम्मेवारी सम्हालेका थापाको भन्दा कम अवधिमा बढी संख्यामा भारतीय नागरिक तत्कालीन गृहमन्त्री श्रेष्ठको पालामा नेपालबाट तेस्रो मुलुक गएको तथ्याङ्कबाट देखिएको छ।
त्यस्तै रामबहादुर थापाको गृह मन्त्रालयको नेतृत्वको समयावधि अरू भन्दा बढी रह्यो । थापा गृहमन्त्री हुँदा ३ वर्ष ४ महिना १६ दिनको अवधिमा १५ हजार ३२ जना अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिकहरू तेस्रो मुलुक गएको अध्यागमन स्रोतले जनाएको छ । थापाको पालामा दैनिक औसतमा १२ जना भारतीयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तथ्य खुलेको छ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्दा बढी समय गृह नेतृत्वको जिम्मेवारी सम्हालेका थापाको भन्दा कम अवधिमा बढी संख्यामा भारतीय नागरिक तत्कालीन गृहमन्त्री श्रेष्ठको पालामा नेपालबाट तेस्रो मुलुक गएको तथ्याङ्कबाट देखिएको छ।
त्यसै गरी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको तथ्याङ्कले देखाएको छ। खाण गृहमन्त्री हुँदा १ वर्ष ५ महिना १३ दिनको अवधिमा २४ हजार ६२१ जना भारतीय नागरिक त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक बाहिरिएको अध्यागमनको तथ्याङ्कले देखाएको छ। खाणको पालामा दैनिक औसतमा ४७ जना भारतीय नागरिकले विमानस्थलबाट तेस्रो मुलुक गएको देखिन्छ ।
त्यसै गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ। तीन महिना दाहालले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । दाहालको पालामा दैनिक करिब औसतमा एक जना भारतीय नागरिक यहाँबाट तेस्रो मुलुक पलायन भएको देखिएको छ। उनका पालामा भारतीय नागरिकहरू त्रिभुवन विमानस्थलबाट भुटान र दुबई बढी संख्यामा गएको अध्यागमन स्रोतको तथ्याङ्कले देखाएको छ । स्रोतका अनुसार यसरी नेपाली रुट (विमानस्थल) हुँदै तेस्रो मुलुक जाने गरेको भारतीय नागरिकहरू लामो समयदेखि आवतजावत गर्ने गरेका छन्।
यसै गरी गृहमन्त्री रमेश लेखक भइरहेको बेला पनि १३ हजार ७ सय ८८ जना भारतीय नागरिकले नेपालको विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्यांक आएको छ । लेखक गृहमन्त्री भएको अहिले ११ महिना पूरा हुन लाग्यो । विमानस्थलस्थित अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईले ९५ किलो सुन तस्करीमा मुछिएका दुई भारतीय मोष्ट वाण्टेड नागरिकलाई विना रोकटोक पठाएपछि कति कसका पालामा कति भारतीय नागरिक नेपालको विमानस्थल प्रयोग गरे भन्ने विषयमा खोजबिन सुरु भएको थियो।
अहिले २०६४ सालयताकै पालादेखिको भिजिट भिसाको प्रकरणबारे अनुसन्धान गर्नुपर्ने विषयमा बहस चलिरहेको छ । विकसित घटनाक्रम हेर्दा भिजिट भिसा र भारतीय नागरिकले त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक आउजाउ गर्न थालेको दशकौँदेखिको निरन्तरता भएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक गोविन्द रिजालले भारतीय नागरिक यसरी जानुमा कानुन विपरीत नभएको बताएका छन् । ‘भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जानु नयाँ विषय होइन, ट्रान्जिट प्रयोग गर्ने हो, जो विषय नेपाली नागरिकहरूले पनि गरिरहेका हुन्छन्, कानुन विपरीत पनि छैन’, महानिर्देशक रिजालले भने।
प्रकाशित: २७ जेष्ठ २०८२ १५:५८ मंगलबार