प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको हो ।
माओवादीले योजना बैंकमा परियोजना इन्ट्री गर्ने प्रक्रिया अपारदर्शी भएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ ।
माओवादी केन्द्रका सांसद विन्दमान विष्टले योजना बैंक इन्ट्रीका विषयमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने माग गरे । 'कर्णालीको समृद्धिको यात्रामा हामीले साथ र सहयोग दिए पनि सिफारिस गरिएका योजनाभित्रबाट नाम दिन मन्त्रालयहरूले भने पनि सिफारिस गरिएका योजनाहरुनै समावेश भएनन्,’ सांसद विष्टले भने, यसमा सरकारको स्पष्ट धारणा नआउँदासम्म हामी संसद चल्न दिँदैनौँ ।’
उनले योजना बैंकमा योजना इन्ट्री गर्ने सन्दर्भमा बेइमानी भएको आरोप लगाए । 'के आधारमा योजना बैंकमा इन्ट्री गरियो,’ उनले भने । इन्ट्री भएका र नभएका इन्ट्रीहरुको तुलना गर्नुपर्ने अवस्था आएको बताए । 'सिफारिस भएका योजनाहरुको हामीसँग लिष्ट छ, योजना आयोगले कुन–कुन योजना इन्ट्री गर्यो हामीलाई जानकारी छैन,’ उनले भने,'जिल्लाबाट सिफारिस भएर आइसकेपछि इन्ट्री नहुनु दुःखद हो, सबै योजनाहरू योजना बैंकमा इन्ट्री हुनुपर्छ ।’
उनले सरकारले मन लागेका योजनाहरू इन्ट्री गर्ने गरेको र मन नलागेका योजनाहरू इन्ट्री नगर्ने गरेको आरोप पनि लगाए ।
प्रकाशित: २६ जेष्ठ २०८२ १७:४६ सोमबार





