पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै कमजोर रहेको बताएकी छन्।
नारी सञ्चार गृह झापाले विर्तामोडमा आयोजना गरेको अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रमा महिला सहभागिता बिस्तारै बढ्दै गए पनि सङ्ख्यात्मक रूपमा उपस्थिति कमजोर रहेको बताइन्।
उनले समाचार सम्पादन, निर्णय र नीति निर्माण तहमा महिलाको भूमिका सीमित रहेकोमा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि महिला सङ्ख्या न्यून रहेको उल्लेख गरिन्।
जनसङ्ख्याको आधा हिस्सा ओटेका महिलासँग सम्बन्धित विषयलाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
‘महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दामा महिला पत्रकारद्वारा नै तयार गरिने सामग्रीमा थप सम्वेदनशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।
चुनौतीपूर्ण अवस्थामा पनि महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल र सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताइन्।
सोही अवसरमा भण्डारीले नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग गर्ने दातालाई सम्मानपत्र प्रदान गरिन् र संस्थाले प्रकाशित गरेको ‘सञ्चारमा नारी’ पुस्तकको विमोचन गरिन्। नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले संस्थाको अक्षयकोषमा ५० लाख रुपियाँ जम्मा भएको जानकारी दिइन्। रासस
प्रकाशित: २५ जेष्ठ २०८२ १९:२९ आइतबार





