प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको ‘मिसन–०८४’को अभियानलाई लिएर नेपाली कांग्रेससँग खेल्न खोजेको बताएका छन्। आइतबार अनेरास्ववियूको महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘हाम्रा विरोधीहरूले, प्रतिक्रियावादी शक्तिहरूले, अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन–०८४ भनेर कांग्रेसलाई सिद्ध्याउँछु भन्छ, बहुमत ल्याउँछु भन्या छ भनेर खेल्न खोजिराखेका छन्,’ प्रधानमन्त्री ओलीले भने।
२०८४ को निर्वाचनमा एमाले मात्र नभई कांग्रेसले पनि बहुमत ल्याउँछु भन्ने गरेको उनले बताए। उनले भने, ‘तर कांग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दागर्दै पनि। हामी पनि भन्छौँ कांग्रेससँग सहकार्य गर्दागर्दै बहुमत ल्याउँछौँ। कल्ले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला।’
चुनावमा बहुमत ल्याउने दाबी हरेकले गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘यतिसम्मकी प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भन्छन्। के सपना देखेका छन् भने...,’ प्रधानमन्त्री ओलीले भने।
तर एमाले सबैभन्दा मजबुत र लोकप्रिय पार्टीका रूपमा रहेको ओलीले बताए।
प्रकाशित: २५ जेष्ठ २०८२ १५:५१ आइतबार





