१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गगनको दाबी: संघीयता कसैको दबाबबाट होइन, कांग्रेसले ल्याएको हो

‘पहिलो पटक प्रदेश लेख्ने नरहरि, संघीयता दस्ताबेजमा लेख्ने नेपाली कांग्रेस(प्रजातान्त्रिक)’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा संघीयता कसैको दबाबमा नभई कांग्रेसले नै ल्याएको दाबी गरेका छन्। शुक्रवार धरानमा आयोजित पार्टीको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्। 

‘संघीयताबारे कांग्रेसका साथीले केही सोच्नुभएको छ भने म विनम्रताका साथ आग्रह गर्छु, ती सोचका दोकानहरू बन्द गरिदिनुस्,’ महामन्त्री थापाले भने, ‘यो संघीयता हामीले कसैको दबाबका कारणले ल्याएको होइन।’ 

नेपालमा संघीयताको बहस चल्दा सबैभन्दा पहिला प्रदेश शब्द लेख्ने र उच्चारण गर्ने व्यक्ति कांग्रेस नेता नरहरि आचार्य रहेको थापाले बताए। उनले भने, ‘संघीयताका बारेमा सबैभन्दा पहिला प्रदेश भन्ने शब्दको उच्चारण गर्ने, आफ्नो दस्ताबेजमा लेख्ने, प्रस्ताव गर्ने पहिलो राजनीतिक नरहरि आचार्य हो। तत्कालीन नेपाली कांग्रेसको दस्ताबेजमा पहिलो पटक अब नेपालमा प्रदेश बनाउनुपर्छ भनेर लेखिएको हो।’ 

यस्तै नेपालको राजनीतिक दस्ताबेज नै पारित गरेर संघीयतामा जाने योजना सार्वजनिक गर्ने पार्टी नेपाली कांग्रेस(प्रजातान्त्रिक) रहेको पनि उनले बताए। ‘नेपालको राजनीतिक दस्ताबेजमा पहिलो पटक संघीयता भनेर लेख्ने पार्टी त्यो बेलामा हामी दुइटा भयौँ, त्यो बेलाको नेपाली कांग्रेस(प्रजातान्त्रिक) हो। जसले आफ्नो अधिवेशनबाट संघीयता पारित ग¥यो,’ महामन्त्री थापाले भने। 

कांग्रेस(प्रजातान्त्रिक)ले त्यो दस्ताबेज पारित गर्दा २०६२/६३ को आन्दोलन नै नभएको र मधेस आन्दोलन पनि नजन्मिएको उनले बताए। उनले भने, ‘जति बेला २०६२÷६३ को आन्दोलन भएकै थिएन। मधेसको दल जन्मिएकै थिएन।’ 

तर कांग्रेसका नेताहरू बेलाबेलामा ‘यो मधेसको दलले बोकाइदियो’, ‘यो जनजाति आन्दोलनले बोकाइदियो’ भन्नेगरेमा गगनले आक्रोश पोखे। ‘केही पनि थिएन त्यो बेलामा ।केही थिएन त्यो बेलामा । हाम्रो अनुभवबाट एउटा निष्कर्ष निकालेको हो,’ उनले भने। 

सबै अधिकार काठमाडौंमा मात्र केन्द्रित भएकाले एउटा जातिमा, एउटा भाषामा, एउटा भूगोलमा भएको अधिकार विघटन गरेर सबैमा पुर्‍याउँदा बहु केन्द्र बनाउनुपर्छ भनेर संघीयता ल्याइएको उनले बताए। 

अहिलेको संघीयता पूर्ण रूपमा ठिक भने नचलेको उनले बताए।‘संघीयता ठिक चलेको छ? पटक्कै छैन। यसै गरी जान सकिन्छ? सकिन्न। यसलाई अझैँ सुधारेर लैजानुपर्छ,’ उनले भने।  प्रदेश र स्थानीय तहलाई अझैँ बढी अधिकार दिएर लैजानुपर्नेमा गगनले जोड दिए। 

प्रकाशित: २३ जेष्ठ २०८२ १८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App