२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

संसद्‍मा बजेटमाथिको छलफल प्रभावित,आ–आफ्नै अडानमा सत्तापक्ष र प्रतिपक्ष दल

फाइल तस्बिर

प्रतिपक्षबाट विगत २०६४ सालपछिका गृहमन्त्री र श्रममन्त्रीको छानबिन, गृहमन्त्री रमेश लेखकको राजीनामा माग र गृहमन्त्री लेखकको राजीनामा नदिने अडान कायमै रहँदा प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सञ्चालन हुन सकेन । 

यसअघिझैं भिजिट भिसा प्रकरणमा संलग्न रहेको अपरोपमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् । गृहमन्त्रीको राजीनामा माग गर्दा जेठ १३ र १४ गतेका बैठक पनि विपक्षले अवरुद्ध पारेका थिए ।

सभामुखको सदन खुलाउने प्रयास जारी भए पनि प्रतिनिधि सभाको मंगलबारको बैठक बस्दै नबसी सूचना जारी गरी बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले भिजिट भिसाको अनुसन्धान प्रभावित हुने भएकाले गृहमन्त्रीको राजीनामा मागिरहेका हुन् । उनीहरूले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेतको संलग्नता भएको आशंका पनि गरिरहेका छन् । २०६४ सालयता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्ने विषयलाई पनि उनीहरूले आफ्ना मागमा थप गरेका छन् । २०६४ सालमा लेखक श्रममन्त्री थिए । यस छानबिनमा सत्तापक्ष तयार भए सदनमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षीहरूले बताएका छन् । सत्तापक्षले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरूको असहयोग भएपछि मंगलबारबाट सुरु गर्ने भनिएको बजेटमाथिको छलफल प्रभावित भएको छ । मंगलबार संसद्को कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आव २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सुरु गर्ने र संघीय निजामती सेवा विधेयक प्रतिवेदन पेस गर्ने मुख्य थिए । सदनको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि उनी सूचना जारी गर्न बाध्य भएका थिए । सभामुख देवराज घिमिरेको पहल जारी रहेकाले ११ बजे बोलाइएको बैठक २ बजे बस्ने गरी सारेर सूचना जारी गरिएको थियो । २ बजेपछि पनि सभामुखले सदन खुलाउन पहल गरे तर सहमति नहुँदा बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

सभामुखले पनि सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन विपक्षीसँग आग्रह गरेका थिए । उनले मंगलबार बिहानैदेखि त्यस्तो पहल गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक राखेका थिए । विपक्षीहरूको पनि छुट्टै बैठक बसेको थियो । यसबारे समाधान खोज्न सोमबार पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बसेको थियो । मंगलबारको बैठकमा सभामुख घिमिरेले ‘पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला’ भनेका थिए । तर विपक्षीहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्तापक्ष तयार भए गृहमन्त्रीलाई बोल्न दिने अडान राखेका थिए । गृहमन्त्री लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटक पटक समय मागे पनि विपक्षीको असहमतिले बोल्न पाएका छैनन् । जेठ १४ गते पत्रकार सम्मेलन गरेर उनले कर्मचारीको अनुसन्धान भइरहेको जनाउँदै गृहमन्त्रीको पदबाट राजीनामा नदिने बताएका थिए ।

गत जेठ ७ गते त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो भने अख्तियारले सोही दिन नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको थियो । जेठ ५ गतेसम्म उनी विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए । उनी ६ गते मात्रै गृह मन्त्रालयमा सरुवा भएका थिए । उनलाई पक्राउ गर्नु र कार्यालयमा छापा मार्नुको कारण उनले मानव तस्करीसँग सेटिङ गरेको भन्ने छ । उनको मोबाइल अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिलाई विदेश पठाउने काममा संलग्नता रहेको पाइएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । यही विषयले गत जेठ १३ र १४ गते त्यसपछि मंगलबार सदनको काम अघि बढ्न सकेन । संविधानबमोजिमको बजेट ल्याउने दिन जेठ १५ गते भएकाले एक दिन सदन खुलाइएको थियो । सभामुखले तयार गरेको संसद्को सम्भावित कार्यसूचीमा बजेटमाथिको छलफल मंगलबार, बुधबार, बिहीबार र शुक्रबारसम्म रहने उल्लेख छ । २६ गतेदेखि विनियोजन विधेयक २०८२ का विभिन्न मन्त्रालयगत शीर्षकमा छलफल र खर्च कटौतीको प्रस्तावहरू प्रस्तुत हुने उल्लेख छ ।

प्रकाशित: २० जेष्ठ २०८२ १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App