२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

व्यक्तिगत घटना दर्ता समयमै र अनिवार्य गर्न स्थानीय तहको आग्रह

ताप्लेजुङका स्थानीय तहहरूले व्यक्तिगत घटना दर्ता नागरिकको कर्तव्य भएको भन्दै यस कार्यमा उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्।

ताप्लेजुङमा एक नगरपालिका र आठवटा गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन्। स्थानीय तहले व्यक्तिगत घटना दर्ता गराउनु नागरिकको कर्तव्य भएको र यसले नेपाली नागरिकको आधार बिन्दु तय गर्ने बताएका छन्। फुङलिङ नगरप्रमुख अमिर मादेनले व्यक्तिगत घटना दर्ताले नागरिकको प्रारम्भिक अभिलेख तयार हुने बताए। 

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले व्यक्तिगत घटना दर्ताले नागरिकलाई लाभ हुने भएकोले व्यक्तिगत घटना दर्ता नागरिकको कर्तव्य हुने टिप्पणी गरेका छन्। व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा शुभकामना सन्देश दिँदै पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले व्यक्तिगत घटना दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिन आग्रह गरेका छन्।

मेरिङेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले व्यक्तिगत घटना दर्ता नागरिकको अनिवार्य जिम्मेवारी हुने उल्लेख गरेका छन्। मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले समयमै व्यक्तिगत घटना दर्ता गर्नु भनेको नागरिकले आफ्नै काम समयमै गर्नु बराबर भएको प्रतिक्रिया दिएका छन्।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की तोकिएको समयावधि भित्रै व्यक्तिगत घटना दर्ता गरी नागरिकले एक महत्वपूर्ण जिम्मेवारी सहज रूपमा पूरा गरेको देखिने बताएका छन्। सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई व्यक्तिगत घटना दर्ता नागरिकले आफ्नो हक अधिकार सुनिश्चित गर्ने आधार प्राप्त हुने बताउँछन्। सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले व्यक्तिगत घटना दर्ता नागरिकको अनिवार्य जिम्मेवारी हुने बताएका छन्। 

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङले समयै व्यक्तिगत घटना दर्ता गर्दा यसले सम्बन्धित व्यक्तिलाई फाइदा पुग्ने भएकोले यो नागरिकको पहिलो जिम्मेवारी हुने बताउँछन्। हरेक वर्षको वैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाइन्छ। व्यक्तिगत घटना दर्ता भन्नाले जन्म, मृत्यु,विवाह, सम्बन्धबिच्छेद र बसाइँसराइ जस्ता घटनालाई जनाउँछ।

यस्ता व्यक्तिगत घटनाहरू घटना भएको ३५ दिनभित्र आ–आफ्नो स्थायी ठेगाना वा घटना भएको स्थानको वडा कार्यालयमा गई दर्ता गर्न सकिन्छ। व्यक्तिगत घटना दर्ता बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र नावालक परिचयपत्र प्राप्त गर्न, बैंक खाता खोल्न र राज्यबाट प्राप्त हुने अन्य सेवा लिन अनिवार्य मानिएको छ। जानकारहरूका अनुसार व्यक्तिगत घटना दर्ता नगरि बस्नु भनेको पनि पछिसम्म आफ्नै लागि काम साँचेर राख्नु जस्तै हो। 

प्रकाशित: १ वैशाख २०८३ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App