नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकमाथि राज्यका कुनै पनि निकायले प्रश्न नउठाएको दाबी गरेका छन्। बुधवार पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन्।
‘जब कसैमाथि प्रश्न उठ्छ भने जतिसुकै ठुलो अपराधी भए पनि सफाइ दिन, जवाफ दिन पाउँछ। त्यसमाथि गृहमन्त्री,’ घिमिरेले भने,‘उहाँमाथि त प्रश्न पनि उठेको छैन। न कुनै संस्थाले प्रश्न उठाएको छ।’
एउटा कर्मचारीलाई अख्तियारले बोलाएको र त्यो किन बोलाएको भनेर सम्म अख्तियारले नभनेको अवस्थामा गृहमन्त्री लेखकमाथि अनावश्यक लाञ्छना लगाइएको उनले बताए। उनले भने, ‘अहिले एउटा कर्मचारीलाई अख्तियारले बोलायो, त्यो पनि किन बोलायो थाहा छैन। न हिरासतमा राखेको छ, न किन बोलायो अख्तियारले नै भनेको छ। १० दिनपछि फेरी आउनु भनेर पठाएको छ।’
यो अवस्थामा गृहमन्त्रीको राजीनामा मागेर एक्कासि संसद् अवरोध गर्ने काम संसदीय अभ्यासको विपरीत रहेको पनि प्रमुख सचेतक घिमिरेले बताए। ‘बिलकुलै संसदीय अभ्यासको खिलाफमा छ। यो संसदीय लोकतन्त्रको खिलाफमा छ भन्ने हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।
प्रकाशित: १४ जेष्ठ २०८२ १४:५२ बुधबार





