१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री पहिलो पटक मौसम विज्ञान विभागको स्थलगत अवलोकनमा

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारीबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् ।  

यसवर्ष गतवर्षको भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् ।

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसुचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीको आग्रह थियो ।  

विभागका महानिर्देशक कमलराम जोशीले यसवर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।  

विभागको कार्यालयमा स्थलगतरुपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उनले आफूहरुले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।  

अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्चाधिकारी सहभागी थिए । 

प्रकाशित: १३ जेष्ठ २०८२ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App