शहरी विकास मन्त्रालयले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि सरकारी कामकारवाहीलाई पेपरलेस बनाउने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिए । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ ।
मंगलबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयको सेवा प्रवाह सहज र चुस्त बनाउन फाइल ट्यापिङ सिस्टम र एकिकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।
मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जानकारी दिए । सचिव सिग्देलले भने, ‘अब अन्तर मन्त्रालय फाइल र चिठि पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’
यो प्रणाली लागू भएपछि ब्याकडेटमा काम गर्ने र फाइलहरु ऋड्काउने प्रवृत्ति अन्त्य हुनेछ । कुन फाइल मन्त्रालयको कुन निकायमा कति दिनदेखि छ भन्ने जानकारी लिने फाइल ट्रयापिङ सिस्टम पनि कार्यान्वयनमा ल्याइने भएको छ ।
जीआईओएमएस प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयले एकिकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउन लागेको हो ।
यो प्रणाली प्रयोग गरि सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य हुनेछ ।
प्रकाशित: १३ जेष्ठ २०८२ १७:१८ मंगलबार





