नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको समयभन्दा वर्तमान समयमा धनी र गरिबबिचको खाडल कम भएको दाबी गरेका छन्।
‘सक्रिय राजतन्त्रको समयमा धनी र गरिबबिचको खाडल २१ गुणा थियो,’ मंगलबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ। कोही पीडा मनाउने नि रैछन्!!'
उनको यो व्यंग्य जेठ १५ गते राजधानीमा राजावादीले प्रदर्शन गर्न लागेको तर्फ सङ्केत थियो।
उनको यो भनाइमाथि सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन्। उनले विगतको कुरासँग दाँज्नेभन्दा पनि वर्तमानमा गर्न सक्ने काम किन नगरेको भन्ने प्रश्न समेत धेरैले गरेका छन्।
‘पहिला सबै खत्तम थियो, अहिले सबै ठीक छ भन्ने तर्क नगरौँ महासचिवज्यू। जनतालाई अब त्यस्तो कुरा विश्वास लाग्दैन,’ सामाजिक सञ्जालमा प्रदीप रुपाखेतीले टिप्पणी गरेका छन्, ‘गर्नु पर्ने जस्तो भएन। गर्नै पर्ने जस्तो गरिएन तर अब त गर्नै पर्छ- भन्ने सोच आवश्यक छ। अब कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ। विचार पनि अब त्यही दिशामा आउनुपर्छ।’
महासचिव पोखरेलले यसअघि गणतन्त्रको पक्षमा एमाले दरिलोसँग उभिने बताएका थिए। ‘अरू के गर्दछन् उनीहरूको कुरा हो,’ उनले लेखेका छन्, ‘तर नेकपा (एमाले) गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ।’
प्रकाशित: १३ जेष्ठ २०८२ ०८:५१ मंगलबार





