१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देशमा नयाँ क्रान्ति आवश्यक: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा ‘नयाँ क्रान्ति’ को आवश्यकता रहेको बताउँदै त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेको जिकिर गरेका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रीत पार्टीको विशेष अभियान अन्तर्गत शनिबार कास्कीको रानीपौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निष्कर्षका साथ आफूहरु अभियानमा निस्किएको र अब संविधान संशोधनमार्फत यो मुद्दालाई अघि बढाउने बताए।

‘देशलाई नयाँ क्रान्तिको आवश्यकता छ भन्ने कुरा सोचे सम्झेर अभियान थालेका हौँ,’ अध्यक्ष दाहालले भने, ‘हामीले पहिल्यै संविधान सभाबाट संविधान निर्माणको बेलामा भनेका थियौँ, यो संविधान जेजस्तो बन्दैछ यसले स्थिरता दिँदैन। यसले देशलाई आर्थिक समृद्धिलाई ठीक ढंगले अगाडि बढाउन सक्दैन।’

संविधान निर्माणकै क्रममा आफूहरुले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने अडान राखेको स्मरण गर्दै उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनैपर्छ भनेका थियौँ। तर कांग्रेस र एमालेले असहमति राखे, हामी त्यसमा अडिएर बस्दा फेरि संविधान नबन्ने र देश ठूलो भुमरीमा पर्ने देखेर हामीले नोट अफ डिसेन्ट लेखेर मानेका थियौँ।’

उनले अब संविधान संशोधनको प्रक्रियामा यो मुद्दालाई पुनः जोडदार रूपमा जनतामाझ लैजाने र स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले आफू नेतृत्वको पूर्ववर्ती सरकारले गरेका काम र हाल जारी अभियानका क्रममा जनताबाट प्राप्त समर्थनले देश माओवादीमय बन्दै गइरहेको दाबी समेत गरे।

प्रकाशित: १० जेष्ठ २०८२ १६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App