नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफूलाई नसच्याएर ठूलो जनआन्दोलन हुने चेतावनी दिएका छन्।
शुक्रबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित जनसभामा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले सरकार उल्टो बाटोमा हिँडिरहेकाले आफूलाई नसच्याए विद्रोह हुने बताए। ‘यो सरकार दलाल भ्रष्टाचारीको संरक्षणमा लागेर दलित गरिब र विपन्न समुदायको आवाज सुनिरहेको छैन,’ उनले भने, ‘हामीले सरकारलाई ध्यानाकर्षण गराइरहेका छौं। यदि यो सरकारले जनताको आवाज सुनेन भने ठूलो जनविद्रोह हुन्छ। जसले नयाँ नेपाल र नयाँ समाजको स्थापना गर्ने छ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध ठूलो कदम चाल्दा सरकार ढलेको उनको जिकिर छ। ‘नेपालको इतिहासमै पहिलो पटक म प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी गृहमन्त्री हुँदा भ्रष्टाचार र बेथितिको विरुद्धमा ठूलो कदम चाल्यौं,’ उनले भने, ‘सानो ठूलो कुनै भेदभाव नराखी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि भ्रष्टाचार र दलालहरूले हाम्रो सरकार नै ढल्ने अवस्था सिर्जना गरे।’
उनले देशमा रहेको बेथिति र भ्रष्टाचारलाई निर्मूल पार्नका लागि फेरि एक पटक माओवादी नेतृत्वलाई पूरै शक्ति प्रदान गर्न आग्रह समेत गरे। ‘म तेस्रो पटक प्रधानमन्त्री हुँदा अब हामीले केही गर्नुपर्छ भनेर लागेका थियौं, त्यो तपाईँ जनताको शक्तिले भएको थियो,’ दाहालले भने, ‘अब तपाईँहरूले हामीलाई पूरै शक्ति प्रदान गर्नुभयो भने हामीले यो देशलाई रुपान्तरणको नयाँ दिशामा अगाडि लैजान्छौं।’
वर्तमान सरकार दलाल र भ्रष्टाचारीहरूको संरक्षक बनेर बसेको उनको आरोप छ। सरकारको जनविरोधी गतिविधिले गर्दा नै नागरिकमा निराशा पैदा भएको उनको भनाइ छ।
‘सरकार दिन प्रतिदिन दलाल भ्रष्टाचारीको संरक्षणमा लागेको छ, उसको यो जनविरोधी गतिविधिले जनतामा निराशा छाएको छ,’ उनी भन्छन्, ‘यही मौकामा प्रतिक्रियावादीहरूले थप निराशाको खेती गर्ने प्रयास गरिरहेका छन्।’ देशमा अराजकतावादी रोग लागेको समेत उनले बताए। ‘अहिले अराजतावादी रोग लागेको छ, सबैलाई एउटै भाँडोमा राखेर गाली गर्ने चलन बढेको छ,’ उनले भने, ‘अराजकता जति बढ्दै गयो त्यति नै प्रतिक्रियावादी र पृथकतावादीलाई फाइदा पुग्छ। नेताको आलोचना स्वस्थ तरिकाले गर्नुस्। प्रतिक्रियावादीलाई फाइदा पुर्याउने ढंगबाट होइन।’
देशमा केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको उनको आरोप छ। जनताको बीचबाट शक्ति आर्जन गरेर देशलाई रुपान्तरणको क्षेत्रमा अगाडि बढाउन लागि पार्टीले अहिलेको अभियान चलाएको उनको भनाइ छ।
‘हामीले हुलाकी राजमार्ग अभियान चलायौं, अहिले मध्यपहाडी लोकमार्गको अभियानमा छौं, यसबाट हामी जनतामा जोडिने र शक्ति आर्जन गरेर देशलाई नयाँ ढंगबाट अगाडि बढाउने कार्यमा लाग्नेछौं,’ दाहालले भने।
फरक प्रसंगमा उनले मध्यपहाडी लोकमार्ग आफू पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री हुँदा ल्याएको बताउँदै यसले बागलुङका नागरिकको जीवन परिवर्तन गर्ने बताए। ‘लोकमार्गले सबैभन्दा धेरै छोएको बागलुङ जिल्ला पर्छ, यो बागलुङको नागरिकका लागि जीवन रेखा बन्नेछ,’ उनी भन्छन्, ‘गलकोट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक र कालीगण्डकी करिडोरले यहाँको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्नेछ।’
मध्यपहाडी लोकमार्गको अक्षेते-गलकोट खण्डमा सुरुङ मार्गको डिपिआर तयार भैसकेको भन्दै उनले त्यसलाई कार्यान्वयनमा लैजान पहल गर्ने बताए। अध्यक्ष दाहालले सबैभन्दा सस्तो र बहुउपयोगी उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना तत्कालन निर्माण प्रक्रिया थाल्नुपर्ने बताए।
स्थानीय नागरिकले भोग चलन गर्दै आएको जमिनको विषयमा स्पष्ट सहमति कायम गरी उत्तरगंगा जलविद्युत् आयोजना बनाउँदा सबैका लागि सहज हुने उनको भनाइ छ। देशको शिक्षा नीतिमा व्यापक परिवर्तन गर्नका लागि आफूले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदन नयाँ प्रधानमन्त्री आएसंगै लुकाएको दाहालले बताए।
‘मैले शिक्षा नीतिमा सुधारका लागि कार्यदल बनाएर अध्ययन गराएको थिएँ, प्रधानमन्त्री फेरिएपछि त्यो लुकाईयो म फेरि तेस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा चार महिनासम्म खोज्दा पनि भेटिएन। तत्कालीन शिक्षामन्त्रीलाई मागेर नयाँ शिक्षामन्त्रीलाई कार्यान्वयनका लागि निर्देशन दिएको थिएँ। सकार ढल्यो हामीले काम गर्न पाएनौं।’ उनले शिक्षा नीतिमा आमुल परिवर्तन नगरी शिक्षाको नाममा बर्सेनि अर्बौं रकम विदेश जान रोक्न नसकिने उल्लेख गरे।
प्रकाशित: ९ जेष्ठ २०८२ १३:०४ शुक्रबार