फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ गरेको आरोपी नै यतिबेला गृहमन्त्री रमेश लेखकको सचिवालयमा छन् ।
तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने भिजिट भिसा सेटिङमा अप्रेसन चलाउँदा त्यसमा संलग्न देखिएका अधिकृत नै अहिले गृहमन्त्रीको सचिवालयमा रहेका छन् ।
नेपाल प्रहरीले चलाएको सो अप्रेसनमा तत्कालीन शाखा अधिकृत नरवीर खड्कासहित गिरोहका सदस्यहरू पक्राउ परेका थिए ।
तत्कालीन अध्यागमन अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विकाश डङ्गोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध मुद्दा चलेको थियो । त्यसमध्येका एक विमल पौडेल अहिले मन्त्रीको सचिवालयका हर्ताकर्ता हुन । उनकै योजना र सल्लाहमा अर्का अधिकृत गणेशदत्त ओझाले तय गरेका कर्मचारीहरू अध्यागमन कार्यालयमा जाने गरेका छन् । ‘ भिजिट भिसाको सेटिङ काम गरिरहेका अधिकृत नै मन्त्रीको सचिवालयमै छन्, उनले नै अध्यागमनमा कर्मचारीको खटन पटन गर्छन् त्यसको परिणाम अहिले भोगिरहेका छन्’, गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग बयान लिइहरेको छ । विवादित पृष्ठभूमिका सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका थिए । भूकम्पको बेला त्रिपाल काण्डमा समेत मुछिएका र रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवादित ठेक्कामा परेका भट्टराईलाई मन्त्री लेखकले अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका हुन् । तत्कालीन सचिव दिनेश भट्टराईले मोरङको प्रमुख जिल्ला अधिकारीबाट हटाइएको थियो ।
अख्तियार स्रोतका अनुसार दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका कर्मचारी उच्च निगरानीमा रहेका छन् । यीमध्ये धेरै जसो दोहोर्याएर अध्यागमन पुगेका थिए ।
अहिले मन्त्री लेखकको सचिवालयमा कार्यरत रहेका अधिकृत पौडेललाई प्रहरीले लिखत किर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनी सुटुक्क अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए ।
बिचौलियाहरू अरुण दाहाल, सरोज कुमार यादव, गिता शाह र गणेश पाण्डेलाई कसुरदार ठहर गरिएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमनमा कसलाई पठाउने भनेर उनै पौडेल र गणेश ओझाले गर्छन् । उनलाई खुसी नपारी कोही पनि अध्यागमन जान नपाउने गृह मन्त्रालय स्रोत जनाएको छ ।
म्यानपावर कम्पनीहरूसँग भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनका कर्मचारीले ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म लिने गरेको स्रोतको दाबी छ । यसरी सेटिङमा दैनिक औसतमा सय जनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री पुग्ने गरेको उजुरी अख्तियारमा परेको थियो ।
भिजिट भिसामा विदेश जानेसँग सङ्गठित रूपमै असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको थियो। भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरेको छ । अख्तियारले छापा हान्ने तयारी गरेको थाह पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याइएको थियो । उनको स्थानमा ताप्लेजुङका प्रजिअलाई सरुवा गरिएको थियो ।
प्रकाशित: ८ जेष्ठ २०८२ १६:३९ बिहीबार