२० श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

धान दिवस: सामाजिक सञ्जालमा छ्यापछ्याप्ती, वास्तविक किसानलाई न मल न सिँचाइ

मधेशका खेतबारीमा असारको हरियाली फैलिनुपर्ने बेला यस वर्ष चिन्ताको छाया बाक्लिएको छ । सामाजिक सञ्जाल धान दिवसका तस्बिर र भिडियोले भरिएको छ । नेता, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरू हिलो छ्यापेर धान रोपेको दृश्य सार्वजनिक गरिरहेका छन् । तर खेतको वास्तविकतामा पुग्दा किसानको अनुहारमा उत्साहभन्दा बढी निराशा देखिन्छ ।

रौतहटको कटहरिया नगरपालिका–६ मा राष्ट्रिय किसान महासंघले आयोजना गरेको धान दिवस कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवसहित नेता–कार्यकर्ता धान रोपाइँमा व्यस्त थिए । त्यही समयमा मुख्यमन्त्रीकै पालिका गढीमाई नगरपालिका–समनपुरका किसान रबिन्द्र सहनी भने आफ्नो ब्याड नजिकै बसेर आकाशतिर हेर्दै भविष्यको चिन्तामा डुबेका थिए ।

जेठ महिनाभर पर्याप्त वर्षा नहुँदा चर्को घामले ब्याडमा राखिएको धानको बेर्ना नै रोगाएको छ । “धान रोप्ने बेला भयो, तर रोप्ने बेर्ना नै छैन,” सहनीको पीडा छ । असार १५ देशभर धान दिवस उत्सवका रूपमा मनाइँदा उनीजस्ता सयौं किसान भने धान कहिले रोप्ने भन्ने अन्योलमा छन् ।

सर्लाहीको मानपुरका किसान संजय यादवको अवस्था पनि फरक छैन । सामान्यतया असारको मध्यसम्म रोपाइँका लागि तयार हुनुपर्ने बेर्ना यसपालि सुख्खा र रोगका कारण कमजोर बनेको छ । “समयमै पानी नपर्दा ब्याड नै बिग्रियो, अब रोपाइँ कसरी गर्ने भन्ने चिन्ता छ,” उनले भने ।

सर्लाहीकै हजरियाका प्रमोद ठाकुरका अनुसार वास्तविक किसानका लागि धान दिवस अझै आएको छैन । “मल छैन, सिँचाइको भरपर्दो व्यवस्था छैन । किसान समस्याले थलिएको छ, तर सामाजिक सञ्जाल हेर्दा सबै कुरा राम्रो भएजस्तो देखिन्छ,” उनी भन्छन् ।

उनको गुनासो केवल उत्पादन संकटसँग सम्बन्धित छैन, प्रतिनिधित्वसँग पनि जोडिएको छ । “वास्तविक किसानको आवाज न मिडियामा देखिन्छ, न सामाजिक सञ्जालमा । किसानको दुःख ओझेलमा पारेर धान रोपेको अभिनय गर्नुको अर्थ छैन,” ठाकुरको कथन छ ।

नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले धान दिवसको अनुभूति गर्न नपाउनु र गैरकिसान वर्गले उत्सव मनाउनु विडम्बनापूर्ण अवस्था भएको बताए । “किसानको आधारभूत समस्या समाधान नगरी धान दिवस मनाउनु भनेको कृषक पेशामाथि नै व्यंग्य गर्नु हो,” उनले भने ।

रोपाइँको लक्ष्य ठूलो, प्रगति अत्यन्त न्यून

अन्नको भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ सम्म तीन लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म जम्मा १६ हजार सात सय हेक्टर अर्थात् ४.३६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको तथ्यांकले कृषि क्षेत्रको वास्तविक अवस्था उजागर गर्छ ।

मधेशका किसानहरूले मुख्यतः चैती, भदैया र अगहनी जातका धान लगाउने गर्छन् । तर यसपालि पानीको अभाव, कमजोर ब्याड र मल संकटले अधिकांश किसानलाई पछाडि धकेलेको छ । गढीमाई–४ का श्रीनारायण झा भन्छन्, “धान दिवस अहिले किसानभन्दा पनि कार्यक्रम गर्ने र बजेट खर्च गर्नेहरूका लागि बढी उपयोगी भएको देखिन्छ । किसानको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्छ ।”

मल गोदाममा, किसान सहकारीको ढोकामा

यस वर्षको अर्को विडम्बना रासायनिक मलसँग जोडिएको छ । किसानहरू मल खोज्दै सहकारी, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका कार्यालय धाइरहेका छन् । तर सरकारी निकायका अनुसार गोदाममा पर्याप्त मल मौज्दात छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, चन्द्रनिगाहपुरका प्रमुख विवेक पौडेलका अनुसार पालिकाले सिफारिस गरेका सहकारीमार्फत मल वितरण भइरहेको छ । गौरस्थित साल्ट ट्रेडिङ कार्यालयले पनि करिब पाँच हजार पाँच सय बोरा डीएपी मल पालिकाको सिफारिसअनुसार डिलरमार्फत वितरण भइरहेको जनाएको छ ।

यता किसानको अनुभव भने फरक छ । सरकारी गोदाममा मल रहेको दाबी गरिए पनि गाउँका किसानले सहकारीको रित्तो ढोका चहार्नुपरेको अवस्था छ । गत वर्षको मल अभावको तीतो अनुभवका कारण यसपालि किसानहरू समयमै मलको जोहो गर्न हतारिएका छन् । कतिपय किसानले भारतबाट भित्रिएको महँगो मल किनेर ब्याडमा प्रयोग गर्न थालेका छन् ।

कटहरियाका किसान सर्फलाल गुप्ताका अनुसार मल अभावको बेला तस्करीबाट ल्याइएको मल किन्ने बाध्यता नयाँ होइन । “सरकारी मल नपाउँदा किसानले जस्तोसुकै मूल्य तिरेर पनि मल खोज्नुपर्छ,” उनी भन्छन् ।

प्रशासनिक कमजोरीको मूल्य किसानले तिर्दै

कृषि क्षेत्रका जानकारहरूका अनुसार यस वर्ष देखिएको मल संकट प्राकृतिक कारण वा आपूर्ति अभावभन्दा बढी वितरण व्यवस्थाको कमजोरीसँग जोडिएको छ । वितरण प्रणालीमा देखिएको अन्योल र समन्वयको अभावले किसानलाई थप पीडित बनाएको छ ।

जिल्लामा करिब ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तर रोपाइँको मुख्य सिजनमै किसान पानी, मल र समयको त्रिविध संकटसँग जुधिरहेका छन् ।

असार १५ कै दिन सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न क्षेत्रमा वर्षा भएको छ । लामो प्रतीक्षापछि परेको पानीले किसानमा केही आशा जगाएको छ । ब्याडमा रहेको बिउ सप्रिने र रोपाइँको गति बढ्ने विश्वास उनीहरूको छ ।

नेपाल कृषिप्रधान देश भनिए पनि धानको बिउ राख्ने, रोप्ने र भित्र्याउने हरेक चरणमा किसानले मल, सिँचाइ र बजार व्यवस्थापनको सास्ती खेप्नुपरेको छ ।

प्रकाशित: १५ असार २०८३ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App