काठमाडौंको गेस्ट हाउसदेखि झापा र बर्दियाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसबाट खैरो हेरोइनसहित ३ जना र बर्दिया तथा झापाबाट अन्य ३ जना गरी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौंको मित्रनगरस्थित गेस्ट हाउसबाट साउन १४ गते प्रहरीले ४३ ग्राम खैरो हेरोइन, २ थान डिजिटल तराजु, ११ थान मोबाइल र ५० हजार रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-७ का ३४ वर्षीय हितबहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका-७ का १९ वर्षीय रामकृष्ण शर्मा र धनुषाको जनकनन्दिनी गाउँपालिका-३ का २१ वर्षीय धनञ्जय पासवान रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले लागूऔषध ओसारपसार र बिक्रीमा नयाँ शैली अपनाउने गरेको खुलासा भएको छ।
उनीहरूले भुजाको बोराभित्र लागूऔषध लुकाएर सप्तरीबाट काठमाडौं आउने हाइसमार्फत पठाउने र आफैं पछाडि मोटरसाइकलमा निगरानी गर्दै काठमाडौंसम्म ल्याउने गरेको खुलेको छ।
त्यसैगरी, काठमाडौंमा लागूऔषध खरिद गर्ने ग्राहकलाई इनड्राइभमार्फत रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि पुनः अर्को इनड्राइभ बुक गरेर डेलिभरी गराउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका-५ मैनापोखर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-६ का २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन्।
दमौलीबाट बाँसगढीतर्फ आउँदै गरेको भे ५ प २०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
यता झापाको झापा गाउँपालिका-१ लसुनाबाट १ ग्राम ६७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३० वर्षीय बिराज भुजेललाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेको रोशी गाउँपालिका-१२ घर भई हाल झापाको शिवसताक्षी नगरपालिका-९ दुधे बस्दै आएका भुजेललाई इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले बुधबार बिहान नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २० श्रावण २०८३ १९:०२ बुधबार





