२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

नेतृत्व हस्तान्तरण नभएसम्म वामपन्थी एकता सम्भव छैन: जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले पुराना नेताहरूले अभिभावकीय भूमिकामा बसेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म वामपन्थी एकता सम्भव नभएको बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा कम्युनिष्ट एकताको चर्चा केवल नामको मात्र भएको बताए।

नेता शर्माले वामपन्थी शक्तिहरूबीचको एकता सैद्धान्तिक र वैचारिक आधारमा हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिलेको अवस्थामा कम्युनिष्ट एकता भन्नु लाजमर्दो विषय भएको छ। साँचो अर्थमा वामपन्थी समाजवादी आन्दोलन ब्युँताउने हो भने नेतृत्वमा नयाँ अनुहार आउनैपर्छ।’

पछिल्लो समय आफू राजनीतिक परिदृश्यबाट गुमनाम भएको चर्चाबारे बोल्दै शर्माले आफू काठमाडौंमै पार्टी काममा सक्रिय रहेको जानकारी दिए। केही समय स्वास्थ्यमा समस्या देखिएकाले उपचारमा व्यस्त हुनुपरेको तर आफू कतै नहराएको सुनाए।

उनले विभिन्न आर्थिक प्रकरणमा आफ्नो नाम जोडिएको प्रति आक्रोश व्यक्त गर्दै ती आरोपहरूको खण्डन गरे। संसदमै उभिएर छानबिनको माग गर्ने प्रस्तावक आफू नै रहेको स्मरण गराउँदै शर्माले कुनै पनि अनियमिततामा आफ्नो संलग्नता नरहेको सुनाए।

नेता शर्माले आफू सदैव राष्ट्रियता, जनजीविका र सुकुम्बासीका समस्या समाधानका पक्षमा रहेको बताए। उनले छरिएर रहेका वामपन्थी शक्तिहरूलाई एकीकृत गरी एउटै समाजवादी केन्द्र निर्माणका लागि आफू लागिपरेको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: १५ असार २०८३ १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App