खोटाङको सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ। जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारलाई छिमेकी भोजपुर जोड्ने सडक खण्डअन्तर्गत पर्ने सावामा नवनिर्मित पक्की पुल शनिबार उद्घाटन भएसँगै सञ्चालनमा आएको हो।
सङ्घीय सरकारको समपूरक अनुदान रकममा खोटेहाङ गाउँपालिकाले निर्माण गरेको पुलको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई (मुक्ति) र उपाध्यक्ष रुपेश राईले शनिबार उद्घाटन गरेसँगै विधिवत् सञ्चालनमा आएको हो।
खोटेहाङ–२ वाप्लुखा र ३ सावाकटहरे सीमा सावाखोलाको उक्त पुल बनेपछि खोटेहाङ–१ लिकुवापोखरी र भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानी पाप्माखाम भञ्ज्याङ आउजाउमा सहज बनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट)सहित ३ करोड ७ लाख ७३ हजार ५ सय ९८ रुपैयाँमा उक्त पुल निर्माण भएको हो।
हाकिम राईका अनुसार एवै–शुभ एण्ड ध्रुव–श्याम जेभी खोटाङले लिएको ठेक्कामार्फत २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त पुल केही महिना ढिला सकिएको हो । ०८० पुस–३० गते सम्झौता गरेअनुसार तोकिएको अवधिमा नसकिएपछि ६ महिना थपिएको म्यादभित्रै पुल बनेको हाकिम राईले बताए।
गाउँपालिका अध्यक्ष मुक्तिले यो पुल अन्तरपालिका र छिमेकी भोजपुरसम्म आउजाउ गर्नका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। यो पुल बनेपछि खोटाङको खोटेहाङदेखि छिमेकी भोजपुर आउजाउ गर्ने सडक १२ महिनै सुचारु रहने भएकाले छिटोभन्दा छिटो पुल बनाउन आफूहरू लागिरहेको र अहिले सफल भएको अध्यक्ष राईको भनाई थियो।
गाउँपालिकाका प्रवक्ता तथा ५ चिप्रिङका वडाध्यक्ष किरण राईले करिब ८ वर्षदेखि खुलेको कच्ची सडकमा पुल अभावमा सावाखोलाले हरेक वर्षा याममा स्थानीयलाई दुःख दिँदै आएको बताए। उनका अनुसार अब बल्ल पुल बनेपछि भने खोला बाढीको कहरबाट छुटकारा मिल्ने भएर दुवै जिल्लावासीलाई हर्षित तुल्याएको छ।
२ नं. वाप्लुखाका वडाध्यक्ष पारश राईले सावाखोलामा पुल नहुँदा हिउँदको ६ महिनामात्रै यातायात चल्ने र बाँकी ६ महिना कष्टकर पैदल यात्रा गर्नुपर्ने बाध्यता अव हटेको बताए।
पुल बनेपछि यो सडक खण्डमा बाह्रै महिना यातायात सुचारु हुने भएकाले स्थानीयवासीको कृषि उपज तथा उपभोग्य बस्तु ढुवानी निकासीमा सहयोग पुग्ने भएकोमा उनले खुसी व्यक्त गरे।
पुरानो सदरमुकाम खोटाङ बजारदेखि भोजपुरको पाप्माखाम भञ्ज्याङसम्म जोड्ने सडकखण्डको ट्रयाक ०७५ सालमा खोलिएको थियो। तर, बजेट अभावले ८ वर्षयता सावाखोलामा पुल र स्तरोन्नति हुन नसकेको सडकलाई चालु वर्ष प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयले दिएको २ करोड बजेटमा स्तरोन्नति कार्य भइरहेको छ।
३३ किलोमिटर लम्बाईको सडक स्तरोन्नतिको काम शान्ति भूमि कन्स्ट्रक्सन प्रालिले ठेक्कामार्फत गरिरहेको गाउँपालिका उपाध्यक्ष रुपेश राईले बताएका छन्।
प्रकाशित: २१ असार २०८३ १७:२० आइतबार





