७ असार २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले अखिलमा छैन महाधिवेशनको रौनक

उमेरहद लगाउने विषयमा छलफल गरिरहेका छौँ, कति वर्ष भन्ने मात्रै हो, अहिले ३०, ३२ र ३५ वर्षको विषयमा छलफल चलिरहेको छ।

सत्तारुढ दल नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अधिवेशन यसपटक खल्लो हुन भएको छ । यही जेठ २५–२७ गतेमा काठमाडौंमा हुन लागेको अधिवेशनको नेतृत्वमा अहिलेका आकाङ्क्षीहरू कोही नपर्ने गरी छलफल थालिएपछि खल्लो हुन लागेको हो।

जनवर्गीय सङ्गठनहरुको अधिवेशनमा सम्पन्न गराउन अन्तिम चरणमा पुगेको एमालेले अनेरास्ववियुको नेतृत्व तहमा पुग्ने उमेरहद तोक्न लागेपछि विद्यार्थी नेताहरू निराश बनेका छन्। खासगरी विश्वविद्यालयका कक्षा कोठामा नभेटिने र विद्यार्थीसँग सम्पर्क नरहने भएकाले पार्टी नेतृत्वबाटै उमेरहद तोक्न लागिएको हो।

एक विद्यार्थी नेताका अनुसार पार्टीले उमेरहद निर्धारण गरी विधान संशोधन गरेमा विद्यार्थीको दुई तह नै बाहिरिने सम्भावना रहेको छ। अहिले नेतृत्व ४० को हाराहारीमा भएकाले करिब २ सय विद्यार्थी नेताहरू बाहिरिने छन्। एमालेको भातृसङ्गठन अखिलमा उमेरहद टुङ्गो नलाग्दा सो सङ्गठनका नेता कार्यकर्ताहरूलाई अधिवेशन जति लाग्नुपर्ने हो, त्यति लागेको छैन। अखिलका एक नेताका अनुसार यतिबेला अधिवेशनको रौनक लाग्नुपर्ने थियो।

कलेजका विभिन्न कमिटीहरूको अधिवेशनमा केन्द्रित गतिविधिहरू हुनुपर्ने थियो। तर, यस्ता कुनै पनि गतिविधि हुन सकिरहेका छैनन्। यसै वर्ष भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले अखिल इतिहासमै कमजोर देखिएको थियो।

इतिहासमा कहिल्यै दोस्रो नभएको एमाले अखिललाई यसपटक कांग्रेस निकट नेविसङ्घ र माओवादी निकट अखिल क्रान्तिकारीले ठूलो धक्का दिएका थिए। अझ माओवादी निकट अखिलले आफ्नो वर्चस्वलाई बढाउँदै लगेको अवस्थामा एमाले नेतृत्वले विद्यार्थी सङ्गठनको नेतृत्वमा पुर्नविचार गर्नेगरी विधान संशोधन गर्न निर्दैशन दिइसकेको छ।

पूर्वअध्यक्षसमेत रहेका अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्लले उमेरहद लगाउने विषयमा छलफल चलिरहेको बताए। ‘अखिलमा उमेरहद लगाउने विषयमा छलफल गरिरहेका छौँ, कति वर्ष भन्ने मात्रै हो, अहिले ३०, ३२ र ३५ वर्षको विषयमा छलफल चलिरहेको छ। सायद यी तीनमध्ये एक हुने सम्भावना छ’, इन्चार्ज मल्लले भने।

उनका अनुसार महाधिवेशनबाट चयन हुने नेतृत्व सर्वसम्मत नै हुनेछ। ३२ वर्ष लागू भएको ३ सय बाहिरिने उमेरहदको विषयमा पदाधिकारीको बैठकमा त प्रवेश त पायो तर, अहिलेसम्म निकास पाएको छैन।

१३ वैशाखमा पार्टी महासचिव शंकर पोखरेलसहितको पदाधिकारी बैठक बस्दासमेत निकास पाउन सकेन। अखिलको आसन्न २४औं महाधिवेशनमा विधान संशोधन गरेर भए पनि उमेरहद लागू गर्नेमा पार्टी पङ्क्ति पूर्ण रूपमा लागेको छ। महाधिवेशनअघि नै उमेरहदबारे निर्णय गर्ना साथ प्रतिनिधि जाने र महाधिवेशनमा भाग लिने कार्यकर्ताको समेत अभाव हुने अवस्था सिर्जना हुने बताइएको छ।

नेता-कार्यकर्ताहरू बिदा हुने हुँदा, महाधिवेशन सफल नहोला भन्ने चिन्ता रहेको छ। ‘उमेरहद लागू भए ३ सय नेताहरू स्वतः बाहिर रहेछन्। उनीहरूलाई पार्टीले आफ्नो क्षेत्रमा समेट्नुपर्ने हुन्छ’, एक विद्यार्थी नेताले भने।

यदि ३२ वर्ष लागू भएमा पदाधिकारीहरूमा अन्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, प्रकाश पौडेल र सुजन कडरिया मात्रै बाँकी रहन्छन्। यदि उमेरहद लागू नभएमा हालका उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकाय अध्यक्षका दाबेदार हुन्।

यदि त्यसो नभएमा उपाध्यक्षहरू धर्म गिरी, गोविन्द गिरी र नारायण घर्तीले दीपक धामीलाई अध्यक्षमा बोक्ने खुलमखुल्ला बताउन थालिसकेका छन्। महासचिव नरेश रोकायले सुजन कडरियालाई बोक्ने मनस्थिति बनाएर हिँडेको विद्यार्थीहरू बताउँछन्।

उता समिक बडालले भने प्रकाश पौडेललाई अध्यक्ष बनाउने सूचना चुहाएका छन्। यसमा सबैभन्दा बढीचाहिँ मनोज ताम्ली र सञ्जीव धितालले तुरुन्तै प्रतिक्रिया जनाएका थिए। धिताललाई अखिलभित्र कर्णालीको सङ्गठक मानिन्छ।

पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, त्रिविका नेता सिद्धान्त भट्ट, युवा इन्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष समीर रिजाल, अस्कल क्याम्पसस्ववियु अध्यक्ष रुद्रहरी पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, नेपाल कर्मस क्याम्पसका स्ववियु अध्यक्ष विशाल रोकाहा, आरआरका जन्मराज उपाध्याय, मदन भण्डारी, पाटनका नितिन पाण्डे, महिला नेतृहरू त्रिवि स्ववियु कोषाध्यक्ष सन्चमाया सुब्बा, त्रिवि स्ववियु सदस्य कल्पना खतिवडा, शंकरदेवकी मुना तिवारी, चक्रवर्ती ल क्याम्पसका बिहानी पँगेनी, नेपाल कर्मस क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी, शर्मीला भण्डारी आदि लबिङमा छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App