१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

गगन भन्छन्- हामीलाई गनगन गर्ने सुविधा छैन, कांग्रेसभित्र उकुसमुकुस छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुस रहेको बताएका छन्। सोमबार (आज) बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास 'सान्दाजु' लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'नेपाली कांग्रेस पार्टीभित्र एकखाले उकुसमुकुस छ, गुनासो, छटपटाहट, असन्तुष्टि सबै छन्। तर, मैले अवसर पनि छ भनिरहेको छु। कांग्रेस पार्टीको बारेमा हामीले टेक्निकल र ब्यूरोक्रेटिक कुरा गर्‍यौँ। चुनावको कुरा गर्‍यौँ, चुनाव जित्नुपर्छ भन्यौँ, को उम्मेदवार बन्ने कुरा गर्‍यौँ। यो पटकको घटनाले हामीलाई के सिकाएको छ? हामीले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हौँ अहिले। हामी सबैतिर सरकारमा छौँ, हामी सरकारमा नभएको ठाउँ नै छैन। पालिकामा सरकार, वडामा सरकार, प्रदेशमा सरकार, सङ्घमा सरकार; अहिले बनाएको प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सरकार हाम्रो, गभर्नर हाम्रो, ऊ हाम्रो, त्यो हाम्रो। अब सबै जताततै हाम्रै हाम्रो। खुसी हुनुपर्ने हो नि कांग्रेस त, सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? अहिले के देखियो भने हामीले खोजेको त्यहो होइन रहेछ,' उनले भने।

उनले कांग्रेस राष्ट्रिय शक्ति भएको पनि बताए। राष्ट्रिय शक्तिलाई पुनर्परिभाषित गर्दै उनले भने, 'राष्ट्रिय शक्ति भनेको त्यो हो, जसले तत्‌समयमा राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो समस्या बुझ्छ, त्यसलाई चिन्छ, थाहा पाउँछ, त्यो समस्यालाई सम्बोधन गर्छु भनेर सङ्कल्प गर्छ र त्यसलाई सम्बोधन गर्ने सामर्थ्य पनि राख्छ। त्यो राष्ट्रिय शक्ति हो। अहिलेको अप्ठ्यारोबाट देशलाई बाहिर कांग्रेसले निकाल्ने हो,' उनले भने।

कांग्रेसलाई गनगन गर्ने सुविधा नभएको उल्लेख गर्दै उनले त्यसमा सबै जुट्न आह्वानसमेत गरे।

प्रकाशित: ५ जेष्ठ २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App