१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन मिल्दैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरे।

“कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने ब्यहोरा अनुरोध गर्दछु ।” गृहमन्त्री लेखकले भने,“ हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरीत छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।”

उनले उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए। “जो सुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु” उनले भने,“ तीनकुनेमा राजावादी समूहबाट भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा मैले यसअघि सांसदकै सम्मानित राज्यव्यवस्था समितिलाई समेत जानकारी गराइसकेको छु ।”

मन्त्री लेखकले उक्त घटनामा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए। साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले जानकारी दिए।

“स्वदेशी उत्पादनमा आधारित औषधि कम्पनीमा आगो लगाइएकाले हिंसात्मक प्रदर्शनका आयोजकहरूले यसको जिम्मेवारी लिनुपर्ने कुरामा सरकार प्रष्ट रहेको छ” उनले भने।

तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै उनले उक्त घटनामा गोली लागि घाइते भएका व्यक्तिमध्ये हाल तीन जना उपचाररत रहेका र बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेका जानकारी दिए। “उक्त घटनाका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गरिरहेको छ” उनले भने, “ अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुने नै छ भन्ने ब्यहोरा अनुरोध छ ।”

त्यसैगरी झापाको गिरिबन्धु चिया बगान सम्बन्धी निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाई सम्बन्धी प्रश्नमा मन्त्री लेखकले आदेशको कार्यान्वयन सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालय प्रस्तुत मुद्दाहरूमा प्रत्यर्थी नभएकोले आदेश कार्यान्वयनको लागि यस मन्त्रालयमा जानकारी प्राप्त भई पत्राचार हुने अवस्था नरहेको बताए। 

“प्रस्तुत मुद्दाहरूमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०८०।१०।२४ मा भएको आदेशको कार्यान्वयन सम्बन्धित मन्त्रालय तथा निकायहरूबाट भई रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु” गृहमन्त्री लेखकले भने, नेपाल सरकार, गृह मन्त्रालय नेपालको संविधान, नेपालको कानून तथा सम्मानित अदालतका फैसला तथा आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा संवर्द्धन गर्न सदैव क्रियाशील रहेको छ ।”

प्रकाशित: ५ जेष्ठ २०८२ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App