१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ लाई भव्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मूल समारोह समिति गठन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयले पेस गरेको समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव छलफल गरी पारित भएको छ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव छन्।

बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई जेठ १४, १५ र १६ गते साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित तीन दिनसम्म मनाउने निर्णय गरेको छ। केन्द्र, प्रदेश र स्थानीय तहका सरकार, सम्बन्धित निकाय, निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमिति गठन गरिएको छ। 

विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासमा पनि कार्यक्रम तय भएको छ। जेठ १५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह समितिको मुख्य कार्यक्रम हुनेछ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा भव्य बनाउन आह्वान गर्दै यसलाई औपचारिकतामा सीमित नराख्न आग्रह गरे। उनले मूल समारोह समितिमा पदेन रहने पदाधिकारी बारम्बार अनुपस्थित हुने स्थिति रोक्न निर्देशन दिए।

प्रकाशित: ५ जेष्ठ २०८२ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App