एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालमा दशौँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ । देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ ।
एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ । नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेका छन् । संघको यही ९ गतेदेखि ११ गतेसम्म पोखरामा दशौँ महाधिवेशन गर्दैछ ।
यसपटक अध्यक्षमा उपाध्यक्षहरुले दावी गरिरहँदा पार्टीको नेतृत्वले भने वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्याउने गरी छलफल थालेको छ । तीन उपाध्यक्ष र एक महासचिवले अध्यक्षमा आकांक्षा देखाएका छन् । थेवेले पार्टी काम जाने बताइएका छन् ।
तर माथिल्लो तहमा पनि अहिले समायोजन गरी हाल्ने अवस्था नभएको र संगठनलाई आगामी निर्वाचनसम्म चलायमान बनाउनु पर्ने भन्दै थेवेलाई दोहोर्याउन लागेको हो । युवा संघका अध्यक्ष क्षितिज थेवेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।
उनले आफू दोहोरिने नदोहोरिने भन्ने तपसिलको विषय भएको बताउँदै पार्टी संगठनलाई एक ढिक्का बनाउने अभियान लाग्ने पनि बताए । ‘चुस्त दुरुस्त नेतृत्व निर्माण गर्ने विषयमा बृहत्तर कोणबाट छलफल भैरहेको छ, बलियो एमाले संगठित एमाले बनाउने अभियान हो’, अध्यक्ष थेवेले भने ।
अहिलेमा उपाध्यक्षहरू मध्येलाई पार्टी नेतृत्वले विश्वास गर्न नसकेको बताइएको छ । थेबे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको नेतृत्वको बुझाइरहेको छ । उनले ओली कप गरेर खेलकुदको माध्यमबाट युवा संघलाई चिनाएको, एआइ सम्मेलन गरेर युवाहरूको माझमा परिचित गराएको भन्दै नेताहरू सकारात्मक बनेका छन् । तर उनी दोहोरिँदा युवा संघमा नेतृत्व जाम हुने विषयलाई भने पार्टी नेतृत्वले प्रस्ट्याउन सकेको छैन ।
नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र महाराज गुरुङ, प्रकाश गौतम छन् । युवा संघका पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको बोलबाला चल्ने गरेको छ । उनकै रुचिका व्यक्ति युवा संघको नेतृत्वमा आउने पनि चर्चा थालिएको छ । केसी, गुरुङ तहगत नेतृत्वको पक्षमा रहेका छन् ।
उनीहरूको पनि ऊर्जावान् जीवन युवासँग बितेका कारण एक पटक नेतृत्व गर्ने चाहना राखेका छन् । पुरी महासचिव भएका कारण नेतृत्वको दाबेदारमा रहेका छन् । उनले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै आएका छन् । युवा संघका अध्यक्ष थेवे वा पार्टी नेतृत्वको विपक्षमा केसी, गुरुङ, गौतम र पुरी उभिने अवस्थामा छैनन् ।
एमाले जनसंगठन प्रमुख भानुभक्त ढकाल युवाले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट नगरे पार्टीले सुझाव दिने गरेका छन् । अन्य जनवर्गीय संगठनमा पनि एमालेले निर्वाचनको विधि र प्रकृया अपनाएको छैन । पेलेर नै आफूले चाहेको नेतृत्व चयन गरेको छ । युवा संघमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा चयन हुने युवा संघका पूर्व अध्यक्षहरू बताउने गरेका छन् । युवा संघको स्थापनाको पहिलो अध्यक्ष नै केपी शर्मा ओली हुन् । उनको चाहना विपरित कोही पनि अध्यक्ष हुने सम्भावना नभएको एमालेका नेताहरूले बताउने गरेका छन् ।
महासचिवमा पनि ४, ५ जना दाबेदार छन् । हाल कोशीको इन्चार्ज निरज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईँ, खेम शर्मा, राजु थापा लगायत महासचिवका दाबेदार हुन् । एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि ४, ५ जना आंकाक्षी छन् । युवा संघमा अहिले १७ जना पदाधिकारी छन् । अब ९ जना मात्रै रहने प्रावधान छ ।
महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । सचिव निरज पौडेलका अनुसार महाधिवेशनमा देशभरबाट १८ सय ३४ जना प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।
प्रकाशित: ५ जेष्ठ २०८२ १४:१४ सोमबार





