पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथिको अत्याचार भएको बताएका छन्।
पार्टीको जागरण अभियानअन्तर्गत आइतबार (आज) दैलेख पुगेका दाहालले यस्तो बताएका हुन्।
'सरकारले राम्रो काम गर्ने कर्मचारीहरूलाई प्रताडित गर्ने, अत्याचार र अपमान गर्ने काम गरिरहेको छ। त्यो अत्याचार कुलमान घिसिङमाथि मात्रै गरिएको होइन, त्यो सम्पूर्ण नेपालीहरूको पहिचानमाथि गरिएको अत्याचार हो,' उनले भने।
दाहालले सरकारले आफ्नो नेतृत्वको सरकारले तय गरेका कार्यक्रमहरू हटाएको पनि बताए। आफू प्रधानमन्त्री हुँदा कर्णालीको पक्षमा गर्न खोजेका सबै कार्यक्रमहरूको सेट नै हटाइएको उनले बताए।
'हाम्रो सरकारले गर्न खोजेका काम र अहिलेको सरकारले हटाएको कामहरू हेरौँ। हामीले गर्न खोजेका कामको पूरै सेट हटाइएको छ। म दैलेखबासी जनसमुदायका अगाडि गम्भीर रूपले यो कुरा राख्न चाहन्छु। वर्ग-समुदायहरूको अधिकार खोस्ने जमर्को गर्दैछन्। महिला, दलितको नाम पनि उच्चारण गरिएको छैन। कर्णालीको पूरै प्याकेज हटाइएको छ, मधेसको हटाइएको छ,' उनले भने।
प्रकाशित: ४ जेष्ठ २०८२ १६:४६ आइतबार





