६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीको आत्मालोचना: ‘टुटफुट, सत्तामोह र जनतासँगको दूरीले कमजोर भयौं’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो सांगठनिक शक्तिमा आएको ह्रासको मुख्य कारण पार्टीभित्रको टुटफुट, पटक-पटक सत्ताकेन्द्रित हुनु र आधारभूत वर्ग तथा समुदायसँगको सम्बन्ध कमजोर बन्नु रहेको निष्कर्ष निकालेको छ।

पार्टीका उपाध्यक्ष पम्फा भुसालले बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा पार्टीले गरेको गम्भीर आत्मसमीक्षा प्रस्तुत गर्दै अब यी कमजोरीहरू सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै नेतृ भुसालले देशको परिवर्तनका प्रमुख एजेन्डा स्थापित गर्ने माओवादी पार्टी २०६४ सालमा पहिलो शक्तिबाट अहिले तेस्रो स्थानमा खुम्चिनुको पछाडि आन्तरिक कारणहरू नै प्रमुख रहेको स्वीकार गरिन्।

‘हामीले आफूतिरै फर्क्यौँ र समीक्षा गर्‍यौँ– हामी किन कमजोर भयौँ ? एजेन्डा हाम्रो, तर शक्ति किन घट्यो ?’ उनले भनिन्, ‘यसमा पटक-पटकको टुटफुट एउटा ठूलो कारण हो। यद्यपि एकता पनि भएको छ, तर अझै माओवादी घटककै केही शक्तिहरू बाहिर हुनुहुन्छ।’ 

उनले पार्टी सरकारमा जाँदा वा गठबन्धन गर्दा आफ्नो आधार वर्ग र समुदायबाट केही हदसम्म टाढिएको जस्तो अनुभूति भएको समेत बताइन्।

‘हामी जसरी श्रमिक वर्ग, मजदुर किसान, उत्पीडित समुदायमा आधारित भएर आन्दोलन र एजेन्डा स्थापित गर्‍यौँ, पछि त्यही वर्ग समुदाय छुटेको जस्तो भयो,’ उनले थपिन्, ‘सरकार-सरकार हुँदा हामी पनि कतै न कतै ठुलोमैलो भयौँ कि ? जनतासँगको बलियो सम्बन्ध केही कमजोर भयो।’

कहिले कांग्रेस त कहिले एमालेसँगको गठबन्धनले पार्टीको स्वतन्त्र पहिचान र चुनाव चिह्न समेत जनतामाझ स्थापित गर्न कठिनाइ भएको उनको भनाइ थियो।

यी कमजोरीहरूको समीक्षापछि पार्टीले अब आफ्नो आधार वर्ग र समुदायमा फर्किने, छरिएका माओवादी शक्तिहरूलाई एकताबद्ध गर्ने, र सच्चा वामपन्थी, क्रान्तिकारी तथा देशभक्त शक्तिहरूसँग एकता गर्दै दीर्घकालमा देशमा एउटै कम्युनिस्ट पार्टी निर्माणको लक्ष्य लिएको उपाध्यक्ष भुसालले स्पष्ट पारिन्।

पार्टीले हालै एउटा अभियान सम्पन्न गरिसकेको र अर्को अभियान पश्चिम क्षेत्र केन्द्रित गरी छिट्टै सुरु गर्न लागेको पनि उनले जानकारी दिइन्।

तत्कालीन सरकारले सुशासन र आर्थिक समृद्धिका लागि काम गर्न खोज्दा देशमा जकडिएको माफिया सञ्जाललाई असर पर्न थालेपछि सरकारबाट बाहिरिनुपरेको प्रसंग उल्लेख गर्दै उनले ती एजेन्डाहरू लिएर पार्टी अब जनतामाझ जाने बताइन्।

प्रकाशित: ३१ वैशाख २०८२ १९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App