१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

थुनुवा र कैदीको मानव अधिकारका सवालमा सरकार सचेत छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानव अधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन्। कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए।

‘त्यस कारण लोकतन्त्र चाहिएको हो। थुनुवाको होस् या कैदीबन्दी होस्को मानवअधिकारबारे सरकार सचेत छ,’ उनले भने। यस्तै गृहमन्त्री लेखकले कारागारमा कैदीबन्दीको संख्या बढी हुँदा केही जोखिम रहेको बताए।  

‘त्यसको निराकरण गर्नका लागि कारागारलाई व्यवस्थित गर्ने काम अगाडि बढेका छन्। त्यसकै उदाहरणका रुपमा यो कारागार भवनलाई लिन सकिन्छ,’ उनले भने। खुला कारागारको अवधारलाई अगाडि बढाउन आवश्यक भएको गृहमन्त्री लेखकको भनाइ छ।  

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ। सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘ मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ। मानिस उत्पादनसँग जोडिन्छ। आयआर्जन हुन्छ। त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौं।’

मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ। ‘कारगारबाट बाहिर निस्किँदा मानिस नयाँ चेतना र नयाँ सोचका साथ समाजमा फर्किएर जान्छ। कैदीबन्दीलाई उद्योमशील बनाउन कारागारलाई आधुनिक बनाइँदै छ,’ उनले भने।  

यस्तै वर्तमान सरकारले स्थिरताको दिएका भन्दै मुलुकमा आर्थिक गतिविधिमा सुधार आएको गृहमन्त्री लेखकले बताए। ‘भोलि सरकार बनेको १० महिना हुँदैछ। १० महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छैन छ। यो स्थिरता हो। यसले मुलुकको आर्थिक गतिविधिमा सुधार ल्याएको छ,’ उनले भने, ‘नीतिगत रूपमा कानुनी सुधारका लागि पनि हामी अगाडि बढेका छौं।’

मुलुकको निराशालाई समाप्त गरेर आशामा बदल्न सरकार बनेको भन्दै आफूहरू आशा जगाउने कुरामा अगाडि बढेको उनको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०८२ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App