१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय : उपसभामुख राना

फाइल तस्बिर

उपसभामुख इन्दिरा रानाले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएकी छन्। 

बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै उनले बुद्धका उपदेश र मार्गदर्शन पालना गरे धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता बलियो बनाउन सकिने विश्वास व्यक्त गरिन्।

‘गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको हित तथा प्रगतिका लागि सधैँ प्रेरणा दिने विश्वास लिएकी छु,’ रानाको सन्देशमा छ।

वैशाख शुक्ल पूर्णिमामा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यो दिन बुद्धजयन्तीका रूपमा विश्वभरका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिभावसहित मनाउँछन्। यो दिन बुद्धका मन्दिर, गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा विशेष पूजा र विभिन्न कार्यक्रम गरिन्छ।

त्यस्तै, उपसभामुख रानाले उभौली पर्वको शुभकामना दिएकी छन्। उनले किरात समुदायले मनाउने साकेला पर्व प्रकृति र धर्तीको पूजा गर्ने पर्व भएको बताइन्। यो पर्व ऋतु परिवर्तनको सङ्केतका रूपमा पनि मनाइन्छ।

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उभौली वसन्त ऋतुमा पर्छ। किरात समुदायले यो पर्व धुमधामसँग मनाउँछन्, जुन कृषियुगदेखि सुरु भएको मानिन्छ। पर्वको पहिलो दिन ‘चण्डी’ नाच नाचेर प्रकृतिको आराधना गर्ने चलन छ। रासस

प्रकाशित: २९ वैशाख २०८२ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App