१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सदनको आजको बैठकमा कुन-कुन प्रश्नको जवाफ देलान् प्रधानमन्त्रीले?

प्रतिनिधि सभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रतिपक्षीहरूले उठाएका विभिन्न प्रश्नको उनले जवाफ दिने छन्।

नीति तथा कार्यक्रमको छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाको नामसमेत उल्लेख नभएको भन्दै देशको द्रुत र सन्तुलित विकासका लागि सघन अध्ययन र छलफलबाट अघि सारिएका राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकता नदिएको आरोप लगाएका छन्। सम्भवत: प्रधानमन्त्री ओलीले यसको जवाफ दिने छन्।

त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गरेका छन्। संस्कृति, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको टिप्पणी गरेका छन्। आजको युवाको सोचलाई आवश्यकता र प्रविधिमा आधारित विश्वसँगको मार्गमा मिल्ने खालका केही विषय समावेश नगरेको भन्ने विराजको प्रश्नको जवाफ सम्भवत: प्रधानमन्त्री ओलीले दिने छन्।

त्यसै गरी सरकारले वैशाख १९ गते ल्याएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक विना लामाले समावेशी, पारदर्शी र दिगो विकासका लागि सुधार गर्दै कार्यान्वयनमा जोड दिन सुझाव दिएकी छन्।

नीति तथा कार्यक्रम समग्र आर्थिक सुधार, सामाजिक सुरक्षा, कृषि, स्वास्थ्य, भ्रष्टाचार र शान्ति प्रक्रियामा केन्द्रित हुनुपर्नेमा उनको जोडमा सम्भवत: प्रधानमन्त्री ओलीको जवाफ आउने छ।  

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा मधेसका जनता उपेक्षामा पारिएको गुनासो गरेका छन्। उनले मधेस केन्द्रित राष्ट्रिय गौरवका आयोजनालाई आगामी बजेटले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। मधेसको लागि के गरिएको छ भन्ने प्रश्नको जवाफ सायद प्रधानमन्त्री ओलीले दिने छन्।

त्यसै गरी जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजनका लागि अभ्यास र छलफल गर्न एक छुट्टै बजेट निर्माण समिति बनाउन माग गरेका छन्।  

त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम अस्पष्ट रहेको र बजेटमा चलखेल गर्ने गरी नीति तथा कार्यक्रम बनाइएको बताए। ‘विगतमा नीति र कार्यक्रम साथसाथै प्रस्तुत गरिन्थ्यो। यस पटक नीति मात्र प्रस्तुत गरियो, कार्यक्रम प्रस्तुत गरिएन। यसले के शङ्का पैदा गरेको छ भने एकातिर नयाँ नीतिमा सरकारले मिहिनेत गर्न नचाहेको वा नसकेको देखिन्छ। अर्कोतिर बजेटमा पर्याप्त चलखेल गर्न खोजेको जस्तो देखिन्छ।’

सांसद डा. अमरेशकुमार सिंहले नीति तथा कार्यक्रममा सडक पूर्वाधारसम्बन्धी ठोस नीति नआएको टिप्पणी गरे। उनले नारायणगढ–बुटवल सडकमा अन्तर्राष्ट्रिय बेइज्जत भइसकेको टिप्पणी गरेका छन्। 'विदेशी टुरिस्टले भिडियो बनाएर सार्वजनिक गर्दै नेपालमा घुम्न नआउने भनेका छन्। यस्ता कुरालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन,’ उनले भने, ‘१० वर्षसम्म सडक बन्दैन।' यी प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले बैठकमा दिन सक्ने छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम, पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन, नदी बेसिन गुरुयोजना, विद्यार्थीलाई पार्ट टाइम जागिर, आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रममा संशोधन राखेकी छिन्। ‘मेरो विनम्रताका साथ अनुरोध छ, पार्टटाइम जबलाई २० घण्टामा सीमित नगरियोस्,’ उनले भनिन्, ‘कम्तीमा दिनको चार घण्टा विद्यार्थीले काम गर्न सक्छन्। कति घण्टा भन्ने पाबन्दी नलगाई यो कार्यान्वयन होस् र काम बापतको ज्याला हप्तैपिच्छे प्रतिघण्टाको हिसाबले दिने व्यवस्था होस्।’ प्रधानमन्त्रीले सम्भवत: यो प्रश्नको जवाफ दिने छन्।  

यी बाहेक फरक पार्टीका फरक-फरक सांसदले छलफलमा विभिन्न प्रश्न राखेका छन्। जसको जवाफ प्रधानमन्त्री ओलीले आजको बैठकमा दिने छन्।

संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।  

नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिने छ। वैशाख २२ गतेदेखि प्रतिनिधि सभामा यो विषयमा छलफल सुरु भएको थियो।

प्रकाशित: २८ वैशाख २०८२ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App