संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘फारवेस्ट ट्राभल मार्ट’ उद्घाटन समारोहमा मन्त्री पाण्डेले सीमित बजेट भए पनि पर्यटन विकासमा सरकार गम्भीर रहेको बताएका हुन्। ‘यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको छ,’ उनले भने, ‘तर, हामीले भएको बजेटको सही उपयोग गर्दै नीतिगत सुधारमा ध्यान दिएका छौँ।’
पर्यटन विकासका लागि नीति र संरचना सुधारमात्र नभई व्यवहारमा पनि सुधार जरुरी रहेको उनले बताए। ‘हामी विदेशी पर्यटक नेपाल आउने र फेरि फर्केर आउने वातावरण बनाउन काम गरिरहेका छौँ,’ उनले भने।
पर्यटन विकासका लागि वन, गृह, परराष्ट्र, उद्योगलगायत मन्त्रालयसँग समन्वय भइरहेको उनले जनाए। सुदूरपश्चिममा पर्यटकीय गतिविधि कम रहेको स्वीकार गर्दै उनले पूर्वी र मध्य नेपालजस्तै यहाँको पर्यटनलाई पनि चलायमान बनाउनुपर्ने बताए। ‘सगरमाथाले पूर्वको पर्यटन चलायमान छ। पोखरा, मुक्तिनाथ, चितवन र बर्दिया पनि चलायमान छन्,’ मन्त्री पाण्डेले भने, ‘अब सुदूरपश्चिमका पर्यटकीय गतिविधिलाई पनि बलियो बनाउनुपर्छ।’
सरकारले भौतिक संरचना निर्माणमा जोड दिएको उनले बताए। मझगाउँ विमानस्थल निर्माण, धनगढी विमानस्थलको स्तरोन्नति र पोखराबाट सातै प्रदेशमा नियमित उडानको तयारी भइरहेको उनले जनाए। ‘कनेक्टिभिटी भए पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ,’ उनले थपे।
निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रलाई स्वागत गर्नुपर्ने र राज्यले अनुगमन गर्नुपर्ने बताए। विदेशी लगानी भित्र्याउन कानुनी सुधार र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे। ‘हामी विदेशी लगानी ल्याउन मन खुम्च्याउने पक्षमा छैनौँ, कानुन सुधार गरेर लगानीमैत्री वातावरण बनाउनुपर्छ,’ उनले भने।
भारतीय पर्यटकको सम्भावना पहिचान गर्दै उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताको उपयोग गर्नुपर्ने बताए। ‘भारतको ठूलो जनसङ्ख्याबाट हामीले लाभ लिनुपर्छ। हाम्रो प्राकृतिक र धार्मिक समानता छ,’ मन्त्री पाण्डेले भने।
सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनमा सरकार लागेको उनले बताए। ‘हामी नयाँ गन्तव्य पहिचान गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा लागेका छौँ। शक्तिपीठको संरक्षण, कर्णाली र महाकाली नदीमा र्याफ्टिङ विकासमा काम भइरहेको छ,’ उनले भने।
अन्त्यमा, उनले ‘अतिथि देव भवः’ लाई व्यवहारमा लागू गर्नुपर्ने बताए। ‘हामी अतिथि देव भवः भन्छौँ, तर यसको कार्यान्वयन कति भइरहेको छ, त्यसमा ध्यान दिनुपर्छ। सुदूरपश्चिम भौतिक र व्यवहारिक दुवै हिसाबले सुधार गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: २६ वैशाख २०८२ १९:३६ शुक्रबार